‘पानीजहाजका कुरा गर्नेमाथि साइबर क्राइम लाउनुपर्छ’ भन्ने माननीय महेश बस्नेतलार्इ खुलापत्र - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, July 12, 2018

‘पानीजहाजका कुरा गर्नेमाथि साइबर क्राइम लाउनुपर्छ’ भन्ने माननीय महेश बस्नेतलार्इ खुलापत्र

माननीय महेश बस्नेत ज्यु,

अहिले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । यो प्राकृतिक विपत्तिका बेला पीडामाथि व्यंग्य गर्ने रहर कसैको थिएन होला । तर सामाजिक सञ्जालभरि यसलार्इ व्यंग्य र मजाककाे विषय बनाइयाे । त्याे भनेकाे जनताले जनताकै पीडामाथि मजाक गरेका पक्कै हाेइनन्, काम कम र गफ बढी गर्ने शासकहरूप्रति व्यंग्य गरेका हुन् भन्ने तपार्इले नबुझेकाे पनि हाेइन हाेला । तर पनि बुझ पचाएरै भए पनि यस विषयलार्इ संसदमा उचाल्नुभयाे ।

जब तपाईको क्षेत्र डुबानमा पर्यो, तब मात्रै यो कुरा संसदमा उठ्यो । नत्र त युगाैंदेखि तराईलगायत मुलुकका अधिकांश भूभागमा हुने डुबानको कुरा किन उठ्दैन ? वर्षेनी हजाराैंले ज्यान गुमाउने र लाखाैंले घरवारविहीन हुनुपर्ने अवस्था अाउनेगरी सीमामा भारतले बनाएका बाँधहरूबारे किन संसदमा बहस हुँदैंन ? बिहीबार तपार्इले संसदमा जे बोल्नुभयो, त्यो नियम कानुनका हिसाबले तपार्इलार्इ बाेल्न छुट छ, कसैकाे अापत्ति नहाेला ।  तर यतिखेर हामीलार्इ के लाग्छ भने तपाईंलाई अहिले जनता डुबेको पीडाभन्दा पनि आफ्ना लिडरमाथि भएको व्यंग्यले पोलेको हो ।

माननीय बस्तेनज्यु, नियम-कानुनकै कुरा गर्ने हो र पानीजहाज तथा साइबर क्राइमका कुरा गर्ने हो भने सामाजिक सन्जालवासीलाई भन्दा पहिला तपाईंकै लिडरलाई कारबाही किन नगर्ने ? तपाईको सबैभन्दा ठूलाे पार्टीका सर्वोच्च लिडर एवं देशकै प्रमुख कार्यकारीको पदमा आसिन माननीय केपी शर्मा ओलीज्यूले जनताको भावनामाथि खेलबाड गर्नुभएकाे छैन भनेर कसरी भन्न सक्नुहुन्छ ? काम गरेर देखाउनुपर्ने महत्वपूर्ण पदमा रहेको उहाँजस्तो व्यक्तिले उखान-टुक्का जोडेर नानाथरी मञ्चमा गफ गर्दै महत्वपूर्ण समयको दुरुपयोग गरेको चाहिँ किन देख्नुभएन ? जनताले दैनन्दिन भोगिरहेका यस्तै हजारौं समस्या देखेको नदेख्यै गरेर खालि पानीजहाज र रेलका सपना बाँड्नु पनि के अभिव्यक्ति स्वतन्त्रताकाे दुरूपयाेग हाेइन ?

भक्तपुर डुबानमा पनि तपाईंजस्ता मालिक र सत्ताधारी वर्गलार्इ खासै छाेएकाे छैन । उहीहरू आकाश तलामा बसेर हेरिरहेका छन् । भुइँतलामा भाडामा बस्ने र गृहयुद्ध, भूकम्प लगायत कारणले घरवारविहीन भर्इ नदी किनारमा बसेका सुकुम्बासी ‘विचरा’हरुकै बिजोग छ । यस्तो महंगी, बेरोजगारी, अस्तव्यस्ताले गिजाेलेकाे सहरमा जेनतेन गुजारा चलाइरहेका जनताले आफ्नै पीडामाथि किन व्यंग्य र खेलबाड गर्थे र ?

फेरि तपाईको प्रश्न हुन सक्छ- प्राकृतिक विपत्तिमा प्रधानमन्त्रीलाई जोडेर किन व्यंग्य गरिँदै छ ? किनभने माननीयज्यु, प्रधानमन्त्री मुलुककाे अभिभावक मात्रै हाेइन, सबै शासकीय निकायकाे सर्वाेच्च लिडर समेत हाे । उहाँले चाहने हाे भने यी अव्यवस्थाविरूद्ध तलैसम्म प्रभावकारी अपरेशन चलाएर अवस्थालार्इ ट्र्याकमा ल्याउन सक्नुहुन्छ । जनताका समस्या समाधान गर्दै र विकास र समृद्धिका कुरा गरेकाेफ सुहाउँछ तर सारा समस्या एकातिर थाती राखेर तत्काल अावश्यकै नभएकाे कुराकाे पछि किन दाैड्नु ? प्रधानमन्त्री लगायत याे सहरकाे बागडाेर हातमा लिएकाहरूले ‘मुखलार्इ माँड छैन, चाकमा घिउ दल्ने’ भन्ने उखानलार्इ नै चरितार्थ गरिरहेका छन् ।

अब गराैं भक्तपुरकै कुरा । हाल भक्तपुरमा भएको डुबान र काठमाडौंका सडकमा हुने डुबानको मुख्य कारण प्राकृतिकभन्दा कृत्रिम बढी हो । खोला, नदी मिचेर जथाभावी बस्ती बसाल्दाको परिणाम हो यो । उपत्यकाका सबैजसो नदीहरू अहिले अतिक्रमणको सिकार भएका छन् । नदी साँघुरिँदै र वस्ती फैलिँदै गएका छन् । जग्गाकाे अवैध खण्डीकरण, दलाली र माफियाकरण वर्षांदेखि माैलाइरहेकाे समस्या हाे । निर्माण कार्यकाे जिम्मा लिएर याेजनाहरू वर्षाैं अलपत्र पार्ने ठेकेदारहरूकाे कमाल हाे याे ।  त्यहीमाथि जथाभावी फोहोर फाल्नाले ढल, नालाले राम्रोसँग निकास पाएका छैनन् भने प्लास्टिक र अनेक थरी फोहोरले नदीको गहिराइ घटाइदिएका छन् अनि नदीको बहाव नै थुनिएका/परिवर्तन भएका छन् । अझ जग्गा दलाल र माफियाहरुले नदीका प्राकृतिक धार नै रातारात परिवर्तन गरेका घटना भक्तपुरमै देखिएको हो कि होइन ?

गत वर्ष मात्रै त्यही हनुमन्ते खाेलाकाे धार एकै रातमा डाेजर लगाएर जग्गा दलाल र भूमाफियाले परिवर्तन गरे र साे ठाउँमा प्लटिङ गर्न खाेजे । तर जनताकाे अालाेचकीय चेत र विराेधले उक्त कदम असफल भयाे । अाज त्यही हनुमन्ते शहरमा पसेर सडकमै डुंगा चलाउनुपर्ने स्थिति अायाे । अब भन्नुस्, स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मले किन ती माफियाहरूविरूद्ध अपरेशन चाल्न सकेकाे छैन ? किन यी तमाम अव्यवस्था पालेर समृद्धिका ठूल्ठूला गफ हाँकिरहेका छन् ?

अब लागौं बाहियात कुरातर्फ । स्थानीय तहको निर्वाचन भएर गाउँगाउँमा सिंहदरबार पुगेको पनि एक वर्षभन्दा बढी भइसक्यो । यी अवधिमा गाउँका मुहार कत्तिका फेरिए ? जनप्रतिनिधिले बाँडेका आश्वासन कति पूरा भए ? काठमाडौं, भक्तपुरजस्ता ठूला सहरकै मेयरले वर्षदिनमा केके गर्छौं भनेका थिए र त्यसको कार्यप्रगति कहाँ पुग्यो ? स्मार्ट सिटी बनाउने भनेर जग्गा दलाल, भूमाफियालाई काखी च्यापेर कमिसनगिरी गरेर कहाँ पुगिन्छ ? तपाई स्वयं २३ वर्षे उमेरमा भक्तपुरकै ‘गुन्डु’ गाविसका अध्यक्ष बन्नुभयो रे, त्यस कार्यकालमा केके गर्नुभयो ?

चुनाव हारेर समेत लिडरको आर्शीवादले मन्त्री बन्नुभयो, २०७१ सालमा । भक्तपुरका लागि ‘छुट्टै र नौला विकास’का काम गर्ने आस्वासन दिएर सिंहदरबार पसेपछि केके नौला काम गर्नुभयो ? तपाई मन्त्री भएपछि २० गुणा बढी बजेट भक्तपुरका लागि जाने अवस्था बन्यो अरे ! हनुमन्ते करिडोर, विष्णुमती-बागमती करिडोरका लागि बजेट हात पारेर पनि के-कति गर्नुभयो हनुमन्ते खोला व्यवस्थानका लागि ? किन आज त्यही हनुमन्ते सहरमा पसेर बितन्डा मच्चायाे ? यसको जवाफ पनि जनताले जान्न पाए हुन्थ्यो । नेपाललाई १० वर्षभित्र थाइल्याण्ड र दिल्लीसरह बनाउँछौं भनेर तपाईले पनि भाषणबाजी गर्नुभएकै हाे । तपाई मन्त्री भएपछिका ४ वर्ष उस्तै बितिसके, अबका ६ वर्षमा कसरी चमत्कार होला ?

अहिले तपाई सांसद बन्नुभएको छ । हामी सबैलाई थाहा भएकै कुरा हो- ‘बाहियात’ कुरा नगरी भोट कुम्ल्याउन सकिन्न । सोझासाझा जनतासामु दुई-चार ललिपप सपना बाँडिदिए पुग्छ- भोटबैंक तयार हुन्छ । र, त्यसले ५ वर्ष सदन र सरकारमा गएर ‘मोज’ गर्ने वैधानिकता दिन्छ । अनि आँगनअघिको फोहोर सफा गर्नु छैन, भएका सडकको बेहाल एकातिर छाडेर रेल र पानीहजाजका कुरा नगरे त जनताकाे समृद्धि नै अाउँदैन हगि ?

नेपालमा अहिले पानीजहाज पहिलाे अावश्यकता हाे कि खानेपानीकै व्यवस्थापन पहिलाे अावश्यकता हाे ? मेलम्चीका सपनाहरू त जनताले पत्याउन छाडिसके, अनि पानीजहाज चढेर गंगा सयर गर्न जान्छाैं भन्दा कसरी पत्याउनु ? जनतालाई त दुई छाक रोटी जुटाउन नै धौधौ छ, जसलार्इ न त पानीहजाजमा हरिद्वार पुग्नु छ न त रेलमा ल्हासा । विदेशिन बाध्य लाखाैँ युवाहरूलार्इ देशमै केही गर्ने वातावरण चाहिएकाे छ, कराेडाैं जनतालार्इ न्युनतम रोजगारीको ग्यारेन्टी चाहिएको छ ।

देशको सबैभन्दा ठूलो र केन्द्रीय राजधानी सहरमा ससानो वर्षा हुँदा ताल बन्ने, बाटाघाटा थुनिने, हिलाम्मे सडकमा रोपाइँ गर्नुपर्ने, घाम लाग्दा धुलोको कुहिरीमन्डलभित्र मुस्किलले गन्तव्यमा पुग्नुपर्ने, माइक्रो चढ्न पाए युद्ध जितेझैँ अनुहार बनाउनुपर्ने र धारामा शुद्ध खानेपानी हप्तादिनलाई आइदिए मात्र पनि धन्य ठान्नुपर्ने अवस्था हुनु कति विडम्बनापूर्ण छ ? के यिनै हुन् त स्मार्ट सिटीका लागि चाहिने पूर्वाधारहरू ? तत्काल गर्न सकिने यस्ता समस्याको समाधानमा खोइ कसको ध्यान गएको छ ? वर्षौं, युगौं भयो- याे समस्या जस्ताको तस्तै छ तर भाषणबाजी झन मौलाएको छ । शक्तिशाली प्रधानमन्त्री र दुई तिहाईको सरकार हुँदा कसले रोकेको, केले छेकेको छ जनताका यी ससाना लाग्ने तर नभई नहुने आवश्यकताका समस्याको समाधान गर्न ? अनि हामीलाई पहिला यो चाहिएको हो भनेर आफ्ना प्राथमिकता सुनाउन समेत नपाइने, बोल्न नपाइने, सार्वजनिक स्थललाई निषेधित गर्ने र संविधानले दिएको वाक स्वतन्त्रलाई अपराध ठानेर साइबर क्राइम लगाउने अधिकार तपाईंलाई कसले दिएको ?

‘जनताका यी र यस्तै हजारौं समस्याको म्यानेज गर्नु छ, यतातिर ध्यान देऊ, ठूलठूला गफ र सपना अलि पछि गरे पनि हुन्छ, सानातिना समस्याको समाधानबाटै ठुला विकासको आधार तय हुन्छ’ भनेर शासकहरूलाई सामाजिक सन्जालमा व्यंग्य गरिएको हो । खै त कुरो बुझेको माननीयज्यु ?

यति पनि बाेल्न पाइन्न भने हजाराैंकाे बलिदानले ल्याएकाे याे जनतान्त्रिक व्यवस्था र एक दशक लामाे गृहयुद्ध अनि एक दशककै संविधानसभाकाे रस्सकसीमय परिवेशबाट जन्मेकाे नयाँ संविधानकाे के अर्थ रह्याे र ?

अाफ्नाे भाेट बैंक जाेगाइराख्न सस्ताे लाेकप्रियताका लागि साइबर क्राइमकाे कुरा गरी जनताकाे अालाेचकीय चेतलार्इ निरूत्साहन गर्ने र संवैधानिक स्वतन्त्रताकाे हनन गरी जनताकाे मुख थुन्ने काम तपार्इले गर्न पनि पाउनुहुन्न । सक्नुहुन्छ भने केन्द्रदेखि स्थानीय सरकारका कामकारवाही किन प्रभावकारी भइरहेका छैनन्, यतातिर बहस चलाअाैँ । जनताका समस्यासँग जुध्ने राज्यप्रणाली विकास गराैं, शासकीय चरित्र फेराैँ । समृद्धि यहीबाटै अाउँछ, त्यसका लागि जनताले दिलाेज्यान दिन तयार छन् । हैन भने जनताकाे भावनामाथि खेलबाड गरेर ठूल्ठूला गफ हाँक्दै टुक्काले जग हसाउने काम उहाँहरूबाट समेत नहाेस् ।

अाजलार्इ यत्ति मात्रै । _राजेन्द्र तारकिणी

Source:news24nepal.tv

धेरै पटक पढिएको