अधिकांश सांसद सुगर र प्रेसरका रोगी : ६ महिनामा ४१ सांसदले लगे उपचार खर्च - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, November 11, 2018

अधिकांश सांसद सुगर र प्रेसरका रोगी : ६ महिनामा ४१ सांसदले लगे उपचार खर्च

कात्तिक २६, काठमाडौँ । सङ्घीय संसद सुरु भएको ६ महिनामा दुवै सदनका ४१ सांसदले स्वास्थ्य उपचार गराएका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाका ४१ सांसदले संसद सचिवालयबाट उपचार खर्च बुझेका हुन् । गत फागुन २० देखि असोज मसान्तसम्म सो सङ्ख्याका सांसदले ६ लाख ८५ हजार रूपैयाँ उपचार खर्च बुझेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए । 

यसरी उपचार खर्च बुझेका सांसदहरूले पन्ध्र सयदेखि ५० हजारसम्म बुझेका छन् । एक सांसदले भने २ लाखसम्म बुझेका छन् । केही सांसदले चार पाँच पटकसम्म उपचार खर्च लिएका छन् । राष्ट्रिय सभाका एकजना सांसदको मिर्गौला पत्यारोपण गर्नुपर्ने भएकाले उनको लागि सबैभन्दा बढी उपचार खर्च लागेको अर्यालले बताए । 

उनले भने– ‘१५ सय देखि ५ हजार, १० हजार ५० हजारसम्मको बिल पेस भएको छ । त्यस्तो लाखौँ रकम खर्च भएको बिल पेश भएको छैन । एकजना माननीयज्यूको मिर्गौलाको डायलसिस गर्नुपर्ने भएकाले २ लाखसम्मको बिल पेश भएको छ ।’

सांसदहरूले उपचारपछि सचिवालयमा पेश भएको सबै बिल पास नहुने उनले बताए । कतिपय सांसदले भिटामिन र टनिकको पनि बिल पेस गर्ने गरेका छन् । उनीहरूले पठाएको उपचार खर्चको बिल सचिवालयका ३ चिकित्सकसहितको मेडिकल बोर्डले पास गरेपछि मात्र सचिवालयले भुक्तानी दिने गरेको छ । उनले भने– ‘चिकित्सकले सिफारिस गरेको औषधी उपचारका आधारमा मात्र भुक्तानी हुन्छ । कतिपयले व्यक्तिगत रूपमा नर्सिङ सेवा लिएको बिल पनि पेश गर्नुहुन्छ तर त्यस्तो अवस्थामा भुक्तानी हुँदैन । कतिपयले प्रक्रिया नपुग्दा, कागज छुट्दा पाउनुभएको छैन । सांसदको औषधी उपचारका विषयमा अहिलेसम्म विवादास्पद कुरा आएको छैन ।’

अधिकांश सांसदलाई सुगर र प्रेसरको समस्या 

अधिकांश सांसदलाई सुगर र प्रेसरको समस्या पाइएको छ । संसद सचिवालयमा रहेको स्वास्थ्य इकाईका अनुसार अधिकांश सांसदले नियमित रूपमा सुगर र प्रेसरको जाँच गराउने गरेका छन् । 

स्वास्थ्य इकाईका कार्यरत स्वास्थ्यकर्मी कृष्ण केसीले भने– ‘सुगर र प्रेसरको नियमित उपचार गराइरहेका माननीयहरूले यहाँ आएर त्यसको अवस्थाको बारेमा नियमित जाँच गराउनुहुन्छ । नियमित औषधी सेवन गरिरहनुभएका, आकस्मिक रूपमा स्वास्थ्य समस्या आउँदा यहाँ जाँच गराउन आउनुहुन्छ । धेरैजसो हाइपर टेन्सन, सुगर लगायतका स्वास्थ्य जाँचका लागि आउनुुहुन्छ ।’

स्वास्थ्य इकाईमा प्राथमिक उपचारका लागि आवश्यक औषधीदेखि सुगर र प्रेसरको औषधी पनि राखिएको छ । स्वास्थ्य परीक्षणपछि सिफारिस गरिएको औषधी भने बाहिर खरिद गर्छन् र संसद सचिवालयमा बिल पेस गर्छन् । सचिवालयको सो स्वास्थ्य केन्द्रमा नेकपाका अध्यक्ष केपी ओली, प्रचण्डलगायत केही मुख्य नेताबाहेक अधिकांश सांसदहरूले उपचार गराएको केसीले जानकारी दिए । उनले भने– ‘माननीयज्यूहरू प्रेसर र सुगरको विषयमा एकदमै सचेत हुनुहुन्छ, नियमित जस्तै जाँच गराउनुहुन्छ ।’  

source: ratopati.com

धेरै पटक पढिएको