संविधान संशोधनमा ‘ठोस धारणा’ दिन प्रधानमन्त्रीले राजपासँग मागे एक हप्ताको समय - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, December 25, 2018

संविधान संशोधनमा ‘ठोस धारणा’ दिन प्रधानमन्त्रीले राजपासँग मागे एक हप्ताको समय

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधनलगायतका मागबारे ठोस धारणा दिन एक हप्ताको समय माग गरेका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेको राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग मंगलबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत राजपाको मागमा ठोस धारणा दिन एक हप्ताको समय माग गरेका हुन् ।

राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्यहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग छिटोभन्दा छिटो समाधान गरेर अघि बढ्न तयार रहेको बताएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले उहाँहरुले राखेका मागहरुलाई सकारात्मक ढंगले लिदै चाँडो भन्दा चाँडो समस्या हल गर्ने स्पष्ट पार्नुभयो’ उनले भने ।

संविधान संशोधन गर्नेलगायतका माग सम्बोधनको तयारी गर्न प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको नेतृत्वसँग एक हप्ताको समय पनि माग गरेका छन् ।

एक हप्ताभित्र आफूहरुको माग सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्रीले समय मागेका र आफूहरुले दिएको राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले बताए ।

‘प्रधानमन्त्रीजीले ७ दिनको समय माग्नुभएको छ । यो सन्दर्भमा सरकारको धारणा चैं के कसरी गर्न सकिन्छ ? त्यसको जवाफ हामी दिन्छौं । भन्नुभएको छ’ उनले भने ‘७ दिनसम्म प्रधानमन्त्रीको जवाफ हेर्छौं । सबै विषयमा ७ दिनमा चाहिँ उहाँ सल्लाह गरेर बताउनुहुन्छ । साथीहरुसँग सल्लाह गर्नुहुन्छ । त्यो भनेको तपाईहरुको जति समस्या छन्, यो सबै समाधानका सन्दर्भमा राय सल्लाह गर्छु र ७ दिनमा ठोस धारणा दिन्छु भन्नुभएको छ ।’

छलफलमा राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले सहमति अनुसार संविधान संशोधन नगरेको, प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ खुवाउने व्यवस्था नगरेको तथा विभिन्न राजनीतिक आन्दोलनमा परी जेल चलान भएका र अनावश्यक मुद्दा लगाइएका आफ्ना पार्टीका कार्यकर्तालाई रिहा तथा माफी नदिइएको भन्दै प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि जनाएका थिए ।

धेरै पटक पढिएको