सकियो विश्वकप फुटबल, २० वर्षपछि फ्रान्स फेरि विश्‍वविजेता, एम्बाप्पे बने उत्कृष्ट युवा खेलाडी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, July 15, 2018

सकियो विश्वकप फुटबल, २० वर्षपछि फ्रान्स फेरि विश्‍वविजेता, एम्बाप्पे बने उत्कृष्ट युवा खेलाडी


असार ३२, मस्को- फ्रान्सले  विश्वकप फुटबलको उपाधि जितेको छ। आईतबार राती सम्पन्न २१ औं सस्करणको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ गोलले हरायो। फ्रान्सले २० वर्षपछि विश्वकप उपाधि जितेको हो।

फ्रान्स समग्रमा दोस्रोपटक विश्व विजेता बनेको हो। मस्कोस्थित लुजनिकी मैदानमा भएको खेलमा फ्रान्सका सुरुका दुई खेलमध्ये एक गोल आत्मघाती र अर्को गोल पेनाल्टीमा थियो।

फ्रान्सका एन्टोइन ग्रिजम्यान,पल पोग्बा र केइलिन एमबाप्पेले एक एक गोल गरे। क्रोएसियाका मारियो मान्जुकिच र इभान पेरिसिचले गोल गरे।

मान्जुकिचबाट आत्मघाती गोल पनि भएको थियो। पेरिसिचकै कारण फ्रान्सले पेनाल्टी पाएको थियो। पहिलो हाफमा २-१ गोलले अगाडि रहेको फ्रान्सले मध्यान्तरपछि दुई गोल थपेको थियो।
मान्जुकिचबाट १९ औं मिनेटमा आत्मघाती गोल भएपछि फ्रान्सले सुरुवाती अग्रता लिएको थियो। एन्टोइन ग्रिजम्यानको फ्रि किक क्लियर गर्ने प्रयास गर्दा बल मान्जुकिचको टाउकोमा लागेर गोलपोष्टभित्र छिरेको थियो।

विश्वकपको फाइनलमा पहिलोपटक आत्मघाती गोल भएको हो।  पेरिसिचले २८ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए। डिबक्सको इन्साइड एजबाट पेरिसिचले गरेको प्रहार गोल भएको थियो।

तर फ्रान्सले ३९ औं मिनेटमा पुन अग्रता लियो। पेरिसिचबाट डिबक्सभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टी अवसरमा फ्रान्सका  ग्रिजम्यानले गोल गरेका हुन्। प्रतियोगितामा ग्रिजम्यानको यो चौथो गोल हो। पोग्बाले ५९ औं मिनेटमा गोल गरे। रिबाउन्ड भएको आफ्नै प्रहारमा उनले गोल गरेका थिए। ६५ औं मिनेटमा एमबाप्पेले गोल गरेका हुन्।
प्रतियोगितामा एमबाप्पेको यो चौथो गोल हो। फ्रान्सका गोलरक्षक ह्युगो लोरिसको गल्तीमा क्रोएसियाले ६९ औं मिनेटमा गोल थपेको थियो। ब्याक पास भएको बललाई लोरिसले समयमै क्लियर गर्न नसक्दा  मान्जुकिचले गोल गरेका थिए। विश्वकपको फाइनलमा सन् १९६६ पछि सबैभन्दा बढी गोल भएको हो।

सन् १९६६ को विश्वकप फाइनलमा इङ्ल्यान्डले तत्कालिन पश्चिम जर्मनीलाई ४-२ गोलले हराएको थियो। तर त्यो खेल अतिरिक्त समयसम्म धकेलिएको थियो।

फ्रान्सले यसअघि सन् १९९८ को पनि विश्वकप जितेको थियो। फ्रान्सको यो समग्रमा तेस्रो विश्वकप फाइनल भिडन्त थियो।

२००६ को विश्वकपमा फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएको फ्रान्स दुई वर्षअघि घरेलु मैदानमै आयोजित युरोकपमा फाइनलसम्म पुगेको थियो। क्रोएसिया भने पहिलोपटक विश्वकपको फाइनल पुगेको हो।

पेलेलाई पछ्याउँदै एम्बाप्पे, बने उत्कृष्ट युवा खेलाडी
फ्रान्सका केलियन एम्बाप्पेले पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् ।

फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरे । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी हुन् ।

सन् १९५८ को विश्वकपमा गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए ।

यसअघि उनले विश्वकपको एकै खेलमा दुई गोलको पेलेको रेकर्ड पनि बराबरी गरेका थिए । यसरी हेर्दा फ्रान्सको पेलेका उपनाम पाएका एम्बाप्पे साँच्चै पेलेलाई पछ्याइहेको देखिन्छ । उनले रुस विश्वकपकै उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका छन् ।

सर्वोत्कृष्ट खेलाडी लुका मोड्रिच, ह्यारीलाई गोल्डेन बुट
विश्वकप फुटबल २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै कप्तान मोड्रिचले उक्त अवार्ड हात पारेका हुन्। उनको उत्कृष्ट प्रदर्शन र नेतृत्वमा क्रोएसिया फाइनलसम्म पुगेको हो।  विश्वकप २०१८ मा उनले क्रोएसियाका लागि दुई गोल गरेका थिए भने दुई गोलका लागि अवसर सिर्जना गरेका थिए। 

उनी मिडफिल्डर हुन्।  गोल्डेन बुट भने इंग्ल्यान्डका कप्तान एवं स्टाइकर ह्यारी केनले जितेका छन्। उनले विश्वकप २०१८ मा सबैभन्दा धेरै, ६ गोल गरेका थिए।  त्यस्तै विश्वकप २०१८ को युवा खेलाडीको उपाधि भने विश्वकप विजेता फ्रान्सका कालियन एमबाप्पे बने। 

उनले प्रतियोगितामा फ्रान्सका लागि ४ गोल गरेका थिए। १९ वर्षीय एमाबाप्पेले फाइनलमा पनि गोल गरेका थिए।  विश्वकपको उत्कृष्ट गोलकिपरले पाउने गोल्डेन गोल्भ्स भने बेल्जियमका गोल किपर थिबाउट कोर्टोइसले हात पारे। 

विश्वकप २०१८ को तेस्रो स्थानमा रहेको बेल्जियमका गोलकिपरको प्रदर्शन उत्कृष्ट रहेको थियो। तेस्रो स्थानसम्म पुर्‍याउन उनको भूमिका महत्वपूर्ण रहेको थियो। 

- एजेन्सी

धेरै पटक पढिएको