आयोजक रुस र क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश, स्पेन र डेनमार्क घर फर्किए - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, July 01, 2018

आयोजक रुस र क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश, स्पेन र डेनमार्क घर फर्किए

असार १८, काठमाडौं । आयोजक रुस र क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएका प्रि क्वाटरफाइनल खेलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई टाईबे्रकरमा पाखा लगाउँदै रुस र क्रोएसियाले क्वाटरफाइनलमा ठाउँ पक्का गरेका हुन् ।

उपाधि दावेदारमध्येको एक स्पेनलाई घर फर्काउँदै आयोजक रुस विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

रुसको राजधानी मस्कोस्थित लुझ्निकी स्टेडियममा भएको प्रि क्वाटरफाइनलमा रुस टाईब्रेकरमा विजयी भयो । खेलको १२ औं मिनेटमै स्पेनले अग्रता लियो ।

मार्को असेन्सियोको फ्रि किक प्रहार रुसी डिफेन्डर सर्गेई ईग्नासेभिचको खुट्टामा ठोक्किँदै जाली चुम्न पुगेपछि स्पेनले अग्रता लिएको हो ।

पहिलो हाफको अन्त्यतिर रुसले खेल बराबरी ग¥यो । स्पेनका जेरार्ड पिकेले डि एरियाभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई रुसी खेलाडी आर्तेम जुबाले गोलमा परिणत गरेका हुन् ।

दोस्रो हाफमा स्पेनले अधिकतम समय बलमा नियन्त्रण कायम गरे पनि गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाईब्रकेरमा पुग्यो ।

टाई ब्रेकरमा स्पेनका दुई खेलाडी कोके र ईयागो आसपासको प्रहार रुसी गोलरक्षक ईगोर आकिनफेभले रोकेपछि रुस ४-३ ले विजयी भएको हो ।


यस्तै  गएराती सम्पन्न खेलमा डेनमार्कलाई हराउँदै क्रोएसिया विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो मिनेटमै डेनमार्कका माथियास योर्गेनसनले गोल गर्दै टिमलाई अग्रता दिए ।

यसको ३ मिनेटपछि क्रोएसियाका मारियो मान्डुकिचले गोल फर्काउँदै खेल बराबरी गरे ।

यसपछि दुबै टोलीले गोल थप्न नसक्दा खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समय सकिन ४ मिनेट बाँकी छँदा क्रोएसियाले पेनाल्टी हान्ने अवसर पायो ।

तर लुका मोड्रिचको प्रहार विफल भएपछि खेल टाई ब्रकेरमा पुगेको हो । टाई ब्रकेरमा क्रोएसिया ३-२ ले विजयी भयो ।

क्रोएसियाका आन्द्रे क्रामारिच, लुका मोड्रिच र ईभाँ राकिटिचले गोल गर्दा डेनर्माकको लागि सिमोन कायर र माईकल क्रोन डेलिले मात्रै गोल गरे ।

टाई ब्रेकरमा क्रोएसियाका दुई तथा डेनमार्कका तीन खेलाडीको प्रहार बिफल भयो ।

जितसँगै क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा पुग्दा डेनमार्ककको यात्रामा पूर्णविराम लागेको छ । क्रोएसियाले अब सेमिफाइनल प्रवेशका लागि आयोजक रुसको सामना गर्नेछ ।

धेरै पटक पढिएको