देशभर मनसुन सक्रिय, तीन दिनसम्म वर्षा हुने, बाढीको खतरा, अहिलेसम्म के-के भयो ? - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 02, 2018

देशभर मनसुन सक्रिय, तीन दिनसम्म वर्षा हुने, बाढीको खतरा, अहिलेसम्म के-के भयो ?

 असार १८, काठमाडौँ । मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको हो । 

मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए । तीन दिनसम्म लगातार वर्षा भए पनि दिउँसो पख केही बेर वर्षा रोकिने र विशेष गरी साँझ, राति र बिहान वढी वर्षा हुने उहाँको भनाइ छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन मौसमविद्ले आग्रह गरेका छन् । 

जल तथा मौसम विज्ञान विभाग, विज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले पनि आज बाढी बुलेटिन जारी गरी देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

विभागका अनुसार सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ । सोमबार पनि देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा पश्चिम, मध्य र पूर्वी भागको मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।


लगातार परेको पानीका कारण नेपालगञ्ज जलमग्न, दुईजना बेपत्ता

लगातार परेको पानीका कारण नेपालगञ्जका अधिकांश क्षेत्र जलमग्न भएका छन् । हिजो रातिदेखि परेको पानीका कारण नेपालगञ्जको मुख्यबजार क्षेत्र डुबानमा परेको छ । सेतु बिक चोक, न्यूरोड, बसपार्क, घरबारीटोल, धम्बोझी, गणेशपुर, फूल्टेक्रा, बुलबुलिया, बेलासपुर जलमग्न भएका छन् । 
नेपालगञ्ज उपमहानगरपालिकाले राम्ररी नाली सफा गरेर निकास दिन नसकेपछि यो वर्ष अलि धेरैबेर परेको पानीले धेरै ठाउँ डुबानमा परेका छन्। नेपालगञ्जका यी बजार क्षेत्र भने वर्षेनी डुबानमा पर्ने गर्दछन् । मुख्य बजार क्षेत्र नै डुवानमा परेपछि नेपालगञ्जका मेयर र उपमेयरको सामाजिक सञ्जालमा कडा आलोचना गरिएको छ। 
नेपालगञ्ज उपमहानगरपालिकाले भने ढल निकास र नाली सफाईको काम तीव्र गतिमा गरिरहेको जनाएको छ ।
यसैबिच, गएरातिदेखि परेको अबिरल वर्षाका कारण बैजनाथ गाउँपालिकाको जेठीनालामा दुई जना बेपत्ता भएका छन् । स्थानीय ६५ वर्षका तुलाबहादुर बुढा खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ । त्यही खोलामा पौडी खेल्ने क्रममा लोकबहादुर सुनार बेपत्ता भएका छन् । दुवैको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यस्तै दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन्। महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन्। वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताए। 

पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो । 

पानीको बहाव बढेपछि त्यस आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी र पहिरोको जोखिम बढेको भन्दै म्यासेज पनि पठाएको छ । दाङमा आइतबारदेखि आएको अविरल वर्षा अहिले पनि जारी छ ।

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

पृथ्वी राजमार्ग अनत्र्गत धादिङको बेनिघाट रोराङ गाउँपलिकाको दुई ठाउँमा पहिरो गएको छ। बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को मझिमटार र वडा नं ७ कृष्णभीरमा पहिरो खसेको छ। 

पहिरोले कृष्णभीरमा सोमबार जीप पुरिएको छ। काठमाडौँ जाँदै गरेको लु १ च २३४३ नम्बरको जीप पुरिएको हो। पहिरो झर्न थालेपछि जीप भित्र रहेका यात्रुहरु भने भाग्न भ्याएको प्रहरीले जानकारी दिएको छ। लगातार परेको वर्षाले पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। 

राजमार्ग अवरुद्ध हुँदा पूर्वपश्चिम जाने सवारी साधन बाटोमा नै रोकिएका छन्। पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

पर्खाल भत्कीँदा रोल्पामा सुत्केरीसहित तीनजनाको मृत्यु  

लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्कीँदा आज रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । 
रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल पत्कीदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो । 
आज बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्कीएर घर पुरिदा १८ दिनको शिशु र १५ वर्षीया छिमेकी चित्राको घटना स्थलमै ज्यान गएको थियो भने सुत्केरी कमलाको भने उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

धेरै पटक पढिएको