भक्तपुरमा पहिरो परि मृत्यु भएका परिवारलाई एक लाख राहत - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, July 12, 2018

भक्तपुरमा पहिरो परि मृत्यु भएका परिवारलाई एक लाख राहत

असार २९, भक्तपुर ।  चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल एक लाख राहत दिइने भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड (छैटौँ संशोधन) २०७४ बमोजिम लामा परिवारलाई रु एक लाख राहत दिने निर्णय गरेको हो । टहरा पुरिँदा एकै परिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया र साढे दुई वर्षीया सम्पदा गरी तीन जनाको मृत्यु भएको थियो । 

समितिको बैठकले डुबानका कारण विस्थापितलाई खाद्यान्न, स्वच्छ खानेपानी, लत्ताकपडालगायत राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको संयोजनमा अन्य सरोकारा भएका निकाय तथा संघसंस्थाको समन्वयमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ । 

डुबान क्षेत्रमा रोगको प्रकोप फैलन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा आवश्यक तयारी गर्ने र भविष्यमा आइपर्ने विपद्मा छिटो उद्धार गर्न स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुख सम्मिलित ‘क्विक रेस्पोन्स टिम’ गठन गर्ने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । 

बैठकले विपद् तथा मनुसन पूर्वतयारी कार्ययोजनाको समीक्षा गरी आवश्यकतानुसार सम्बन्धित निकायले पुनरवलोकन गर्ने तथा बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विवरण सम्बद्ध सरोकारवाला निकायको सहयोगमा सम्बन्धित स्थानीय तहले संकलन गरी समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ । 

प्रजिअ भट्टको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभा सदस्यद्वय प्रेम सुवाल र महेश बस्नेत, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, जिल्ला समन्वय समितिका अध्यक्ष नवराज गेलाल, नगर प्रमुख, राजनीतिक दल र सरोकार भएका निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीको सहभागिता थियो । (रासस)

धेरै पटक पढिएको