सुधीर बस्नेतको रिहाइबारे गृहमन्त्रीको चासो, गिरफ्तार गर्न पीडितको माग - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 09, 2018

सुधीर बस्नेतको रिहाइबारे गृहमन्त्रीको चासो, गिरफ्तार गर्न पीडितको माग


२७ जेठ, काठमाडौं । ओरियण्टल सहकारीका सञ्चालक सुधीर बस्नेत जेलमुक्त भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले चासो दिएका छन् । बस्नेतबाट ठगिएका पीडितहरुसँग गृहमन्त्रालयमा भएको भेटमा मन्त्री थापाले सुधीर बस्नेतको ठगी भन्दाबारे चासोका साथ सोधीखोजी गरे ।

‘म अन्यायमा परेकाहरुलाई न्याय दिनका लागि नै यो कुर्सीमा बसेको हुँ, गृहमन्त्री थापाले पीडितहरुलाई भने, ‘तपाईरुमाथि अन्याय परेको रहेछ, म यसबारेमा बुझ्छु ।’

शुक्रबार गृहमन्त्री थापालाई भेटेर फर्केका एक सहकारी पीडितले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बस्नेतको धन्दाबारे मन्त्री थापाले ध्यानपूर्वक उनीहरुसँग सोधेका थिए ।

बस्नेतबाट पीडित निक्षेपकर्ताहरुले बस्नेत देशकै ठूलो अपराधी भएकाले उनलाई पुनः पक्राउ गर्न गृहमन्त्री थापासँग माग गरेका छन् ।

विगत ६ वर्षदेखि ठगी धन्दा गर्दै आएका बस्नेतलाई देशको कुनै पनि कानुनले सजायँ दिन नसकेको र आफूहरुले गणतन्त्र आएको महसुस गर्न नसकेको पीडितहरुले गृहमन्त्रीसँग गुनासो पोखेका छन् ।

पीडितले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘जेल सजायँ भोगिरहेका बस्नेतलाई अचानक धरौटीमा रिहा गरिएको खबर विभिन्न पत्रपत्रिकाबाट सुन्दा हामी चकित भएका छौं । यसरी नै अपराधीहरुलाई रिहा गर्ने हो भने अपराधी घोषणा गरेर कारावास सजायँ दिनुको के औचित्य रह्यो ?’

विज्ञप्तिमा अगाडि भनिएको छ,‘ ‘राष्ट्रिय स्तरमै ठूलो आर्थिक घोटाला गर्ने सुधिर वस्नेतलाई पक्राउ गरी आवश्यक कारवाही गर्दै हाम्रो निक्षेप रकम फिर्ताका लागि पहल गरियोस् ।’

‘हजारौं नेपाली जनताको धनसम्पत्ती खुलेआम दुरुपयोग गरी जनताको जीवनमाथि खेलवाड भएको यो नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध हो’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता उच्चकोटीका अपराधीलाई प्रोत्साहन गर्नुको सट्टा उनीहरुलाई न्यायको कठघरामा उभ्याउन जरुरी छ, ताकि कसैले पनि नियम कानुनको दुरुपयोग गर्ने आँट नगरोस् ।’

धेरै पटक पढिएको