धुर्मुस सुन्तली एकीकृत वस्ती पहरी समुदायलाई हस्तान्तरण - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 13, 2015

धुर्मुस सुन्तली एकीकृत वस्ती पहरी समुदायलाई हस्तान्तरण

कलाकारहरुले नै निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत वस्ती साउन २८ गते  सिमान्तकृत पहरी समुदायलाई हस्तान्तरण गरिएको छ । हास्य टेली श्रृंखला मेरी बास्सै, भद्रगोल र सामाजिक संजाल सगुन डटकमको सहकार्यमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१६ डाँडागाउमा निर्माण गरिएको वस्ती करिव दुई महिना १० दिनपछि हस्तान्तरण गरिएको हो ।
हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाइमा झण्डै रु. ६७ लाख ३६ हजार ८२६ लागतमा निर्माण भएको घरको शौचालय, अतिथि कक्ष सहितको जस्ताको छाना भएको तीन कोठे घर शहरी विकासमन्त्री डा नारायण खडका, वरिष्ठ हास्य कलाकारव्दय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा हस्तान्तरण गरे  । घर निर्माणको क्रममा नेपाली सेनाले समेत श्रमदान गरेको कलाकार कट्टेलले जानकारी दिए  । नमुना वस्तीमा २० घर छन् ।

सो अवसरमा शहरी विकासमन्त्री डा खडकाले सरकारले निर्माण गर्ने अल्पकालिन तथा दीर्घकालिन योजनाका लागि धुर्मुस सुन्तलीको योजनाले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै घर निर्माणको प्रशंसा गरे । वरिष्ठ कलाकारद्वय हरिवंश र मदनकृष्णले कलाकारको इज्जत राखेको भन्दै घर निर्माणप्रति खुशी व्यक्त गरे । वस्तीमा पाँच वटा बायो ग्यास, २१ वटा शौचालय, २० वटा खानेपानीको धारा र २० वटा डिस होमसमेत जडान गरिएको छ ।

एउटा घर निर्माणका लागि रु तीन लाख ३६ हजार ८३९ लागत लागेको एकीकृत नमुना वस्ती निर्माणकी संयोजक कुञ्जना घिमिरे (सुन्तली)ले जानकारी दिईन  । वस्ती हस्तान्तरण कार्यक्रममा आर्यन सिग्देल, नवल खडका, गायक राजेशपायल राइ, दिनेश डिसी, शिवहरी पौडेल, किरण केसी, केदार घिमिरे (माग्ने वुढा), मनोज गजुरेललगायतका कलाकारको सहभागिता थियो ।

___६५ दिन पालमूनि बसेर धुर्मुस टिमले यसरी बसाले सुन्दर बस्ती 
[राजकुमार गोले]  चर्को घामको पर्वाह नगरी सीताराम कट्टेल ‘धुर्मुस’ ट्रकबाट ईंट्टा झार्दै थिए । पसिनाले भिझिएको शरिर धुलो–मैलो कपडा थियो । ६५ दिनदेखि पहरी गाउँमा त्रिपालमुनिको बसाई छ, उनको । तर भूकम्पपिडित पहरी गाउँमा गएर एकीकृत नमुना बस्ती निर्माण गर्न पाउँदा खुसीले गद्गद थियो उनको मुहार । ६५ दिन अघिदेखि निरन्तर खटिरहेका धुर्मूस र सुन्तली अचेल भारी बोक्ने, ईंट्टा बोक्ने र सिमेण्ट घोल्नमा ब्यस्त देखिन्छन । श्रम गर्ने र बस्ती हेर्न आउनेसँग भेट्ने फुर्सद छैन अचेल धुमुर्स दम्पतीलाई । यहाँका २० घर निर्माणका लागि बिहान ५ बजेदेखि साँझ ७ बजे सम्म खटिएका छन् । ‘यहाँका प्रत्येक घरधुरीका लागि धारा, शौचालय सहित तीनकोठे घर दिने गरी काम गरिरहेका छौँ ।’– उनी भन्छन् ‘’यी घरहरु साउन २७ गते हस्तन्तरण गर्ने तयारी गरेका छौं ।’’

अरनिको राजमार्गको लामीडाँडाबाट पलाञ्चोक भगवती मन्दिर छिचोलेर चार किलोमिटर अगाडि बढेपछि पुगिन्छ सीमान्तकृत पहरीगाउँ । यो सीमान्तकृत बस्तीमा नेपालका चर्चित हाँस्यकलाकार जोडी धुमुर्स दम्पती लगायत दर्जनौं कलाकारहरु भूकम्पपीडित पहरीहरूका घर बनाइ रहेका छन । भूकम्प पीडितहरुको विभिन्न गाउँमा घर तथा चर्पी निर्माण अभियान नै सुरु गरेका हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ पछिल्लो समय काभ्रेको यो पहरीगाउँमा आइपुगेर चिटिकैको नमुना घर बनाइदिएका हुन् ।

१४ महिनाकी छोरीलाई घरमै छोडेर जेठको टन्टलापुर घाममा पहरी बस्तीमा घर निर्माणको नेतृत्व गरिरहेका धुर्मुस र सुन्तलीलाई अन्य सहकर्मी कलाकारले पनि साथ दिएका थिए । भ्ूाकम्पको पिडा भुल्दै पहरीहरु पनि आफ्नै बस्तीको पुनर्निर्माणका लागि टिभीमा देखिइरहेका कलाकार नै आएपछि स्थानीय पनि रमाई–रमाई श्रममा जुटेका थिए ।

असार र साउनको उखरमाउलो गर्मीमा ज्यालादारी कामदार जस्तै खटिइरहेका धुर्मुसदम्पतीको श्रमदान हेर्न पहरीगाउँ पुगेका जो कोहीको पनि मन भारी हुन्छ । उनीहरू दुईजना खटिएको देख्दा त कति त आश्चर्यले जिब्रो टोक्न थाल्छन् । राहत लिएर गएका संघ–संस्थाका प्रतिनिधिहरू धुर्मुस र सुन्तलीसँग ‘सेल्फी’ कैद गर्छन् । धुर्मुस दम्पतीसँग निर्माण टोलीमा ‘भद्रगोल’ लगायतका टेलिचलचित्रका १६ जना कलाकार तथा सगुन डटकमका पदाधिकारी समेत थिए ।

भुकम्पपछि धुर्मुस–सुन्तलीको टोलीले सिन्धुपाल्चोकको पीपलडाँडामा दशवटा शौचालय, नुवाकोटको ओखरपौवामा महाकाली निमाविको अस्थायी भवन एवं ४० वटा शौचालय निर्माण गरिसकेको छ । यता पहरी गाउँमा पनि २० वटा घर निर्माण गरेका छन । सगुन डटकमको सहयोगमा ती स्थानमा शौचालय एवं विद्यालय भवन बनाएर उनीहरू सीमान्तकृत भूकम्पपीडित खोज्दै काभ्रेको पाँचखाल–१६ पहरीगाउँ आइपुगेको थिए । ‘‘भूकम्प प्रभावित जिल्लामा नेपालकै पहिलो एकीकृत नमुनाबस्ती बनाउने उद्देश्यले अभियान चलाएका हौँ । हामीले बनाएको घर हेरेर सरकारले पनि यही मोडेलका घर बनाउन सक्छ ।’’– उनीहरु भन्छन् । यहाँ धुर्मुस–सुन्तलीले एकीकृत नमुना बस्ती निर्माण गरेपछि पहरी गाउँमा अन्तरिक तथा बाह्य पर्यटकको पनि आकर्षण बढेको छ । ”यहाँ एकीकृत बस्ती बसाल्ने योजना सफल भएपछि पलाञ्चोक भगवतीको दर्शन गर्न आउने भक्तजनलाई यस गाउँमा आकर्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पनि सकिन्छ ।’’ – धुर्मुसले दीर्घकालीन योजना पनि सुनाए ।

सरकारले गर्नुपर्ने काम आफुले गरेको बताउँदै धुर्मुसले एकीकृत नमुना बस्ती निमार्ण गरेपछि सरकारलाई पनि चुनौती थपेको बताए । निती बनाएर मात्रै देशको विकास नहुने तर्क गर्दै उनले सरकारी निती कार्यान्वयन गर्न जनताको घरदैलोमा सरकार पुग्नु जरुरी रहेकोमा पनि जोड दिए । घर निर्माण गर्दा काठमा बाँस ठोकेर त्यसमाथि सिमेन्टले प्लाष्टर गरिएको छ । इँटाको बुट्टा निकालेर रातो, नीलो र सेतो रङ प्रयोग गरिएको धुर्मुसले जानकारी दिए ।

भूकम्पका कारण धुर्मुसकी सासूआमाको करङ्ग भाँचिएको छ । आफ्नी घाइते आमा र १४ महिनाकी छोरीलाई परिवारका अन्य सदस्यको रेखदेखमा छोडेर सुन्तली पनि उत्तिकै जोशका साथ श्रम अभियानमा खटिएकी छिन् । तर यी दम्पतीलाई आफ्नो परिवार भन्दा पनि भूकम्प पिडितहरुको मायाँ थियो । चुनौती पनि थियो त्यतिकै । अनि बनाएर छाड्यो पहरी गाउँमा नमुना घर । सुरुमा केही व्यक्तिहरुको अवरोधले बनाउन कठिनाई थियो भने प्रहरी प्रशासनले पनि सहयोग नगरेकाले समस्या थपिएको थियो ।

उनीहरूले सुरुमा ४० लाख रुपैयाँमा काम पूरा हुने अनुमान गरेका थिए । तर निर्माण सामग्रीको ढुवानी भाडामा सोचेभन्दा बढी लगानी गर्नुपरेका कारण खर्च एक करोड रुपैयाँसम्म पुग्ने अनुमान छ । ‘’हामीसँग भएको रकम सकिन लाग्यो । तैपनि हामी काम बीचैमा छोडेर हिँड्ने पक्षमा छैनौँ । जसरी भए पनि यो अभियान पूरा गर्ने अठोट छ,’’ धुर्मुसले आफ्नो प्रतिबद्धता दोर्होयाए । समयमै काम सम्पन्न नभएपछि हिजो आज धुर्मुस र सुन्तलीलाई वर्षाको चिन्ता हटेको छ । वर्षायाम लागिसकेकाले छिटोभन्दा छिटो घर बनाइसक्नु पर्ने दबाबमा परेकाले चिन्ता थियो । सगुन डटकमका प्रतिनिधि अखिल सिटौलाले धुर्मुस र सुन्तलीको लगन र परिश्रमको पनि प्रशंसा गरे । सिटौलाले भने, ‘‘धुर्मुस र सुन्तली जी लाई परिवारको भन्दा वर्षायाम अघि नै घर बनाउन सकिएला कि नसकिएला भन्ने चिन्ता थियो ,अहिले त्यो चिन्ता हटेको छ ।’’

भूकम्पले घरवास गुमाएका स्थानीयहरू कलाकार मिलेर नयाँ घर बनाइ दिएकोमा असाध्यै खुसी छन् । पहरी समुदायले घर बनाइ दिएकामा खुसीयाली मनाउन थालेको छ । स्थानीय श्यामबहादुर पहरी भन्छन, –‘’हामीले त उहाँहरूलाई टिभीमा मात्रै देखेका थियौँ । अहिले त हाम्रो घर बनाउनु भएको छ । उहाँहरू हामीसँगै श्रम गर्नुहुन्थ्यो, हामीसँगै खानुहुन्थ्यो । साहै्र रमाइलो पो भएको छ ।’’ अब घर हस्तरण गरेपछि जानु हुन्छ । हामीलाई कसरी छुट्ने भन्ने चिन्ताले सताउन थालेको छ –उनले थपे । श्यामबहादुर भन्छन –’‘उहाँहरू त बिहानैदेखि हँसाउनुहुन्छ । उहाँहरूको ठट्टाले हामीलाई भूकम्पको पीडालाई भुलाउन मद्दत मिलेको छ । त्यसैगरी चर्काे घाममा काम गर्दा पनि थकान मेटिने गरेको छ ।’’ अब उहाँहरु गएपछि के गर्ने होला । onlinepatrika.com


धेरै पटक पढिएको