५० लाख झ्वाम, पनौती सडकको अवस्था झन् नाजुक, पनौती–बनेपा सडक पुनःनिर्माण गरिने, ५ करोडको प्रस्तावना पेश - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, August 31, 2014

५० लाख झ्वाम, पनौती सडकको अवस्था झन् नाजुक, पनौती–बनेपा सडक पुनःनिर्माण गरिने, ५ करोडको प्रस्तावना पेश

      अशोक महत, पनौती
मर्मत गरेको एक महिना नवित्दै पनौती–बनेपा सडक खण्डमा पिच उप्किएर ठुला–ठुला खाल्डै खाल्डा बनेको छ । असारमा सकिएको सडक मर्मत साउन मसान्तसम्म पैदल यात्रुलाई समेत हिड्न अप्ठ्यारो हुने गरी दुरावस्थामा पुगेको छ । सरकारी काम कहिले जाला घाम भन्ने उखानलाई चरितार्थ गर्दै पनौतीदेखी बनेपासम्मका सडकका एक दर्जन भन्दा बढी ठाउँमा रहेका खाल्डाहरु हतारहतारमा टालटुल पारिएका थिए ।
सडक विभागको मातहतमा रहेको पनौती–बनेपा सडकखण्डमा सडक डिभिजन कार्यालय भक्तपुरले ५० लाख रकम छुट्याएर मर्मत गरेको थियो । सडक डिभिजन कार्यालयले ५० लाख रकम विनियोजन गरे पनि पनौती र बनेपाका ठेकेदारहरुको मिलेमतोमा ३० लाखको पनि काम भएको देखिदैन । हल्का टालटुल पारिएको सडकका विचमा अहिले पोखरी नै पोखरी बनेको देख्न पाईन्छ । सडक पहिलेको भन्दा अझै नाजुक अवस्थामा पुगेको छ ।
पनौती–बनेपा सडक खण्ड सडक विभाग अन्र्तगत पर्ने भएकोले न त यसलाई जिविसले मतलव गर्छ, न त पनौती र बनेपा नगरपालिकाले नै चासो दिन्छन् । वर्षाको समयमा सानोतिनो खाल्डोमा पानी जमेपछि निरन्तर त्यहि सडकमा सवारी गुडीरहदा सानो खाल्डो विशाल हुन जान्छ ।
पनौतीदेखी बनेपासम्मको सडकमा दैनिका रुपमा ८ सय भन्दा बढी सवारी साधनहरु दिनमा एकतर्फीमात्र गुड्ने गर्दछन् । यो सडकमा १ सय ४४ क्युका यात्रुबाहक चल्ने गर्दछ, एक सयवटा हेबी टिपर कुद्छन्, अन्य सवारी पनि थुप्रै गुड्छन्,
“सडक विभागले मापदण्ड अनुसार सडक नबनाउदा यस्तो अवस्था आएको हो” पनौती नगरपालिकाका कार्यकारी अधिकृत ईन्द्रप्रसाद अधिकारी भन्नुहुन्छ, “८ सय त पनौतीबाट जादा मात्रै हो तिनै सवारी फेरी फर्किदा दैनिक १६ सयवटा सवारी गुड्ने सडक यस्तो टालटुल गरेर कहिल्यै राम्रो हुदैन ।”
पनौती–बनेपा सडक सबै उप्काएर पुनःनिर्माण गर्नु पर्ने देखिएको अधिकारीले बताउनुभयो । सयौ हेबी गाडीहरु दैनिक रुपमा चल्ने सडकलाई उच्चस्तरीय पिच र सडकको दायाँबाँया १५÷१५ छोडेर फराकिलो सडक बनाउनु पर्ने देखिएको छ, उहाँले भन्नुभयो ।
प्रत्येक वर्ष सरकारले सडक मर्मतका नाममा रकम विनियोजन गर्ने गरेको भएपनि लाखौ रुपैया कामै नगरी सकिने गरेको पनौतीका बासिन्दाको गुनासो रहेको छ ।
पनौती–बनेपा सडक मर्मतको नाममा विनियोजन भएको रकमबाट सडक मर्मत नगरी योजना फछ्र्यौट भएको प्रति गुनासो गर्दै स्थानिय बासिन्दा भन्छन् हरेक वर्ष सरकारले छुट्याउने गरेको बजेट बराबरको काम नहुदा पनौती–बनेपा सडकको अवस्था दयनीय बनेको हो ।
पनौती–बनेपा सडकखण्डमा हेबी सवारी साधन धेरै गुड्नाले बाटो छिट्टै विग्रने गरेको सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख नरेन्द्रनाथ कोईरालाले बताउनुभयो । विभागबाट साना सवारी चल्ने सडक भनेर रकम विनियोजित हुने गरेकोले सडक मर्मत मात्र गर्न बाध्य हुनुपरेको डिभिजन प्रमुख कोईरालाले बताउनुभयो । पनौती–बनेपा सडक खण्ड निर्माणमा मापदण्ड नपुगेको स्वीकार गर्दै कोईरालाले भन्नुभयो, ‘धेरै जनगुनासो आएकाले हामी सडक पुनःनिर्माण गर्ने योजनामा छौँ ।’
सडक पुनःनिर्माणका लागि आफुले विभागमा ५ करोडको प्रस्तावना पेश गरिसकेको उहाँले बताउनुभयो । हेबी सवारी साधन धेरै चल्ने कुरालाई ध्यानमा राख्दै फराकिलो र बलियो सडक बनाउने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो । अहिले भएको खाल्डाहरु भने दशैँ–तिहारसम्म मर्मत गरिसक्ने उहाँले बताउनुभयो ।
पनौतीस्थित ठाडोबाटो क्षेत्रमा ढलनिकास नहुदा पूरै सडक खाल्डा पार्दै गएको र दिन प्रतिदिन दुर्घटनाहरुको भय बढ्दै गएको देखिन्छ । सडक मर्मतका नाममा आएको रकम सहिसदुपयोग भएको भए कम्तीमा गत वर्ष देखिका खाल्डाहरु समेत जस्ताको त्यस्तै हुने थिएनन् होला, पनौतीका एक स्थानिय भन्छन्, सम्बन्धित निकायले अझै पनि सामान्य मर्मत गरिदिन्छ कि भन्ने आश छ ।
सडकमा खाल्डै–खाल्डा भएपछि पानी परेको समयमा त पैदल यात्रीलाई समेत समस्या परेको छ । खाल्डामा यातायातका साधनहरु गुडाउदा उछिट्टिएको हिलोले पैदल यात्रीको लुगा कपडा समेत हिलाम्मे हुने गरेको छ । सडकमा विभिन्न भागमा खाल्डाहरु र पानी जम्ने समस्यासंगै यातायातका साधनहरुलाई आवतजावतमा समस्या परेको पनौतीका चालकहरु बताउछन् । धेरै खाल्डाखुल्डीले बसको पार्टपुर्जा नै छिट्टै विग्रने गरेको उनीहरु गुनासो गर्छन् ।
पनौती सडकमा कर उठाउने पनौती नगरपालिकाले वास्ता नगरेको प्रति गुनासो गर्दै यातायात व्यवसायीहरु बताउछन् । तर पनौती नगरपलिकाले सडक मर्मतका लागि पटक–पटक पत्राचार गरेको बताउदै पनौती नगरपालिकाका कार्यकारी अधिकृत ईन्द्रप्रसाद अधिकारी भन्नुहुन्छ, “हाम्रो क्षेत्रभित्र रहेको पशुपति मन्दिर पुल यता बसपार्कसम्म त नगरपालिकाले काम गरिरहेकै छ ।” त्यो भन्दा उताको सडक मर्मत गर्ने क्षमता र स्रोत नगरपालिकासंग नभएको उहाँले बताउनुभयो ।
सडक मर्मत गरिदिन पटक–पटक सडक विभागमा अनुरोध गरिएको भएपनि पनौती सडकको अवस्था बारे सडक विभागका कर्मचारीहरुले खासै चासो नदिएको बताउदै काभे्र मिनिवस सेवा समितिका अध्यक्ष राजेश सुन्दर संैजुले बताउनुभयो । बाटो विग्रदा सडकमा हिड्ने पैदलयात्री समेत असुरक्षि हुदै भएको उहाँले बताउनुभयो ।
सडक मर्मतसंगै ढल निकास, सडकमा राखिएको निर्माण सामाग्रीको व्यवस्थापन र लामो समय सडकमै गरिने पार्किङ समेत नहटाईए सडकको अवस्था सुर्धान नसकिने देखिएको छ । हेबी टिपर र यात्रुबाहक सवारीको धेरै चाप पनौती–बनेपाको पुरानो सडकले थेग्न नसक्ने अवस्था टड्कारो रुपमा देखिएको छ । सडक फराकिलो र गुणस्तरको नबनाईएसम्म यो सडकको अवस्थामा सुधार आउने देखिदैन । सधै टालटुल गरेर जनातालाई कति दुःख दिने, सोच्नु पर्ने बेला आएको छ ।

धेरै पटक पढिएको