निजी कम्पनीका हेलिकप्टरहरु बिना स्वीकृती धुलिखेलबाट उडान भर्दै - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, August 22, 2014

निजी कम्पनीका हेलिकप्टरहरु बिना स्वीकृती धुलिखेलबाट उडान भर्दै


धुलिखेल/ सिन्धुपाल्चोकको जुरेमा साउन १७ गते विहान खसेको पहिरोका कारण अलपत्र परेका यात्रुहरुको ओसार पसारमा उडान भरिरहेका निजी कम्पनीका हेलिकप्टरहरु बिना स्वीकृती नै धुलिखेलमा अवतरण भइरहेको पाइएको छ । पहिरोले अरनिको राजमार्ग अवरुद्ध बनाएपछि चीनको मानसरोबर तीर्थयात्रा पुगेर फर्किर्दै गर्दा सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा अलपत्र परेका र त्यसतर्फ हिडेका यात्रुहरुलाई धुलिखेलमा ओराल्ने र उडाउने गरिरहेपनि धुलिखेल नगरपालिकाको स्वीकृती नलिएको पाइएको छ ।
पहिरो खसेको दिउँसोदेखि दैनिक ६० भन्दा बढी उडान भर्दै आएका सिम्रीक, फिस्टेल र मनाङ एयरलायन्सका हेलिकप्टरहरुले नगरपालिकासँग कुनै समन्वय गरेका छैनन् । ती कम्पनीहरुले धुलिखेल नगरपालिका वडा नम्बर २ अडा बजारमा रहेको खेलमैदानबाट उडान भर्दै आइरहेका छन् ।
निजी कम्पनीले समन्वय नगरी भूमि प्रयोग गरेको भन्दै नगरपालिकाले तत्काल अवतरण बन्द गराउन वा कर उठाउन पाउनुपर्ने आशयको पत्र जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ । कतिपय कम्पनीले हेलिकप्टर राती त्यहि मैदानमा राख्ने गरेका छन् । राति हेलिकप्टरको पहरा नजिकै रहेको जिल्ला प्रहरी कार्यालयले दिदैँ आइरहेको छ ।
नगरपालिकाको पत्र आएको स्वीकार्दै प्रमूख जिल्ला अधिकारी केदार न्यौपानेले विपतका कारण अलपत्र परेकाहरुलाई उद्दार गरिएको बताउनुभयो । नगरपालिकाले आफु स्वायत्त निकाय भएकाले कर लिन पाउनुपर्ने जिकिर गरेका छ । कुनै ब्यवसायीक निजी कम्पनीले नगरभित्र जनचेतना मूलक होर्डिङ बोर्ड राख्दा समेत राजस्व उठाउने नगरपालिकाले दैनिक लाखौँ कमाइरहेका हेलिकप्टर कम्पनीहरुसँग कुनै रकम असुल्न नसकेको भन्दै नगरबासीहरुले नगरपालिकाको आलोचना गरेका छन् ।

धेरै पटक पढिएको