नक्कली भूकम्पपीडितले राहत रकम र परिचयपत्र धमाधम फिर्ता गर्दै - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, August 23, 2015

नक्कली भूकम्पपीडितले राहत रकम र परिचयपत्र धमाधम फिर्ता गर्दै

काभ्रेपलाञ्चोकमा नक्कली भूकम्पपीडितले राहतस्वरुप लिएको रु १५ हजार नगद र परिचयपत्र कार्ड धमाधम फिर्ता गर्न लागेका छन् । नक्कली भूकम्पपीडितको नाममा परेका झन्डै ३०० उजुरीमध्ये करिब २०० ले आफूहरुलाई जानकारी नभएर राहत लिएको भन्दै जिल्लाको अधिकांश गाविसमा नै राहत रकम र परिचयपत्र फिर्ता गरिरहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रशासकीय अधिकृत अर्जुन रिजालले जानकारी दिनुभयो ।
उहाँले सबैभन्दा बढी पात्लेखेत गाविसमा करिब ३० जनाको उजुरी परेको र काभ्रे, नासिकास्थान, चण्डेनीमण्डन, महादेवस्थानलगायत अधिकांश गाविसमा भूकम्पपीडितको नाममा लिएको रकम अहिलेसम्म झन्डै रु ३० लाख फिर्ता भएको बताउनुभयो ।
उजुरी परेपछि बोलाएर बयान लिइयो तर अधिकांशले जानकारी नभएर र केहीले फिर्ता गर्नका लागि समय माग गरेको पाइयो प्रशासकीय अधिकृत रिजालले भन्नुभयो ।
उहाँले जिल्लाको दुर्गम गाविस मानिने महाभारत शृङ्खलाडाँडापारी र कोसीपारीका गाविसबाट समेत नक्कली भूकम्पपीडितको नाममा उजुरी परेको जानकारी दिँदै सम्बन्धित गाविसलाई नै फिर्ता गर्न पत्राचार गरिएको बताउनुभयो ।
नक्कली भूकम्पपीडितको नाममा राहत लिने अधिकांश काठमाडौँमा बस्ने र जिल्लामा पुरानो घर भएका धेरै भएकोसमेत प्रशासकीय अधिकृत रिजालको भनाइ छ ।
अझै पनि छानबिन भइरहेको छ र फिर्ता गर्ने क्रम पनि जारी छ उहाँले भन्नुभयो । रासस

धेरै पटक पढिएको