मुकेश ९ वर्षदेखि 'अर्धचेत’, स्वास्थ्यमा क्रमिक सुधार - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, April 10, 2015

मुकेश ९ वर्षदेखि 'अर्धचेत’, स्वास्थ्यमा क्रमिक सुधार


नगेन्द्र अधिकारी_ काभ्रे, चैत्र २७_कान्तिपुर दैनिक_
_नौ वर्षअघि आजकै दिन (चैत २७ गते) मुकेश कायस्थलाई गोली लागेको थियो । यसबीचमा मुलुकको राजनीतिमा धेरै घटना-प
रिघटना भइसके । राज्य सञ्चालन गर्ने कैयन् पात्र फेरिए । तर, मुकेशको दैनिकी उस्तै छ । १५ वर्षको उमेरमा गोली लागेका उनी २४ टेकिसकेका छन् । ३ हजार २ सय ६५ दिनदेखि 'अर्धचेत' अवस्थामा ओछ्यानमै छन् ।
२०६२ चैत २७ गते प्रतिगमनविरुद्ध आन्दोलनक्रममा उनको कन्चटमा गोली लागेको थियो । विभिन्न चरणका उपचारले स्वास्थ्यमा क्रमिक सुधार देखिए पनि उनी अहिलेसम्म ओछ्यानमै छन् । 'अहिले देब्रे हात चलाउँछ, पहिला झोल मात्रै खाने, अहिले जाउलो पनि खाने गरेको छ,' आमा मीराले भनिन्, 'बोलाएको सुनेर मुस्कुराउँछ, बुझेको जस्तो गर्छ तर बोल्न सक्दैन ।' पटकपटकको उपचारपछि अहिले उनी मोबाइल खेलाउने, मुस्कुराउने र ह्विलचेयरमा आफैं अडिनसम्म सक्ने भएका छन् ।
११ महिना वीर, ५ महिना न्युरो र अन्नपूर्ण अस्पतालमा उपचारपछि ५ महिनासम्म उनको स्पर्श थेरापी पनि गरिएको छ । उनको स्वास्थ्यमा आएको सुधारले परिवारमा आशा जागेको छ । मेडिकल बोर्डले उसलाई विदेशमा लगेर उपचार गर्न सिफारिस पनि गरेको छ । तर, छोटो समय देखाउन मात्रै लैजाँदा खासै सुधार नहुने र राज्यको पैसा पनि सकिने भनेर परिवार यसमा राजी हुन सकेन । 'हामीले ६-७ महिना भारत वा बैंकक लगेर उपचार गर्न भन्यौं तर छोटो समय लाँदा केही उपलब्धि नहुने देखेपछि घरमै रेखदेख गरिरहेका छौं,' बुबा कृष्णमानले भने । उनको उपचारमा संलग्न डा. उपेन्द्र देवकोटा र डा. वसन्त पन्तले पनि उनमा आएको सुधारलाई 'चमत्कार' भनेका छन् । उनको मस्तिष्कको ४ भागमध्ये ३ भाग नष्ट भएको छ ।
मुकेशलाई गोली लाग्दा उनी विद्यासागर स्कुलको कक्षा ८ को वाषिर्क परीक्षा दिएर बसेका थिए । सँगै पढेकी साथी प्रगति आर्किटेक इन्जिनियर भइसकिन् । रोशन शाही र आकाश प्रधान इन्जिनियर छन् । अर्का एक साथी आफ्नै हार्डवेयर व्यवसायमा लागेका छन् । मुकेशको दिन भने बनेपा ६ स्थित घरको दोस्रो तलाको एक कोठामै बित्ने गरेको छ । 'कक्षामा उनी मध्यम खालका विद्यार्थी हुन्,' उनका शिक्षक विनय मंग्राती भन्छन्, 'अतिरिक्त क्रियाकलाप र सामाजिक काममा भने उनी सधैं अगाडि हुन्थे ।'
मुकेशका परिवार राज्यले दिएको सेवा सुविधाबाट सन्तुष्ट नै छन् । सरकारले उनका लागि उपचार खर्च, १५ हजार मासिक भत्ता र एक सुसारेका लागि ६ हजार २ सय भत्ताका साथै एक नर्स नियमित उपलब्ध गराउँदै आएको छ ।
मुकेश आफैं बोल्न नसक्ने भएकाले मुलुकको अहिलेको अवस्थालाई उनले कसरी बुझेका होलान् त्यो भन्न मुस्किल छ । तर, उनकी आमा मीरा र बुबा कृष्णमानलाई भने दलहरूबीच सधैंको बेमेल देख्दा दिक्क लाग्छ । 'राज्यले मुकेशलाई सुविधा दिएको छ, यसमा हाम्रो गुनासो छैन,' मीरा भन्छिन्, 'तर मुलुकमा दलहरूले सहमति गरेर जनताको इच्छा पुर्‍याइदिए अझ बेस हुन्थ्यो ।'
बुबा कृष्णमानको पनि यस्तै चाहना छ । समयमै संविधान बनोस् र मुकेशजस्ता जनआन्दोलनका घाइतेका लागि राज्यले पुन:स्थापना केन्द्र बनाइदेओस् भन्ने उनीहरूको आग्रह छ । 'हाम्रो शेषपछि पनि मुकेशजस्ताको स्याहारसुसार गर्ने वातावरण सरकारले बनाओस्,' मीराले भनिन्

धेरै पटक पढिएको