भक्तपुरका दुई ठाउँमा बिहानै प्रेसर कुकर बम, सुरक्षाकर्मीले निष्क्रिय पारे, ललितपुुरका तीन ठाउँमा पनि शंकास्पद बस्तु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, August 13, 2018

भक्तपुरका दुई ठाउँमा बिहानै प्रेसर कुकर बम, सुरक्षाकर्मीले निष्क्रिय पारे, ललितपुुरका तीन ठाउँमा पनि शंकास्पद बस्तु

साउन २९, भक्तपुर ।  अज्ञात समूहले भक्तपुरका दुई ठाउँमा राखेको प्रेसर कुकर बम सेनाको टोलीले निष्क्रिय पारेको छ । भक्तपुरको सूर्यविनायक, आदर्श चोक र मध्यपुरठिमी नगरपालिका–१ लोकनथलीमा आज बिहानै प्रेसर कुकर बम भेटिएको थियो।

सूर्यविनायकको आदर्श चोक र मध्यपुरठिमीको लोकनथलीमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले बिहान ६ बजेतिर दुवै ठाउँको शंकास्पद बस्तु प्रेसर कुकर बम रहेकाले निष्क्रिय पारेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत एवं प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

उनले भने, ‘दुवै ठाउँमा भेटिएको शंकास्पद बस्तु प्रेसर कुकर बम रहेछ । तर दुवैलाई सुरक्षित रुपमा डिस्पोज गरिएको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।’

बम कसले राखेको भन्ने नखुलेको र कोही पक्राउ पनि नपरेको उनले बताए । घटनामा संलग्नको खोजी भइरहेको र भक्तपुरभरिकै सुरक्षा व्यवस्था कडा परिएको उनले जानकारी दिएका छन् ।

बम आफ्नो नेता पक्राउ परेको बिरोधमा बन्द आह्वान गरेको नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले राखेको हुन सक्ने आशंका गरिएको छ ।

भक्तपुरमा बन्दको प्रभाव भने निकै कम रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। अहिले बम निष्क्रिय पारिएकोसहित सबै ठाउँमा प्रहरीको परिचालन बाक्लो रहेको र सुरक्षा व्यवस्था कडा परिएको उनले बताएका छन् ।

ललितपुुरका तीन ठाउँमा शंकास्पद बस्तु, सेनाको टोलीद्धारा निष्क्रिय 


अज्ञात समूहले ललितपुुरका तीन ठाउँमा शंकास्पद बस्तु राखेकोमा सेनाको टोलीले त्यसलाई निष्क्रिय पारेको छ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी गणेशबहादुर एयरका अनुसार ग्वार्कोमा प्रेसर कुकर बम भेटिएको र सेनाको टोलीले मंगलबार बिहान ३ बजेतिर सुरक्षित रुपमा डिस्पोज गरेको छ ।

यस्तै थसिखेलमा र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु भने प्रहरीको टोलीले बिहानै निष्क्रिय पारेको एसएसपी एयरले जानकारी दिए ।

एसएसपी एयरले देश सञ्चारसँग भने, ‘केही ठाउँमा शंकास्पद बस्तु भेटिएका थिए । सेनाको सहयोगमा निष्क्रिय पारिएको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।’


ललितपुरमा बन्दको प्रभाव नपरेको र सुरक्षा व्यवस्था मजबुद बनाइएकाले ढुक्क भएका यात्रा गर्न उनले आग्रह गरेका छन् ।

धेरै पटक पढिएको