काभ्रे बनेपामा दुर्घटनापछि टिपरमा आगो लगाउने ३ जनाविरुद्ध मुद्दा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, August 15, 2018

काभ्रे बनेपामा दुर्घटनापछि टिपरमा आगो लगाउने ३ जनाविरुद्ध मुद्दा


साउन ३१, काभ्रे । गत साउन ७ गते काभ्रे बनेपामा मोटरसाइकललाई ठक्कर दिने टिपर जलाएको आरोपमा प्रहरीले ३ जनालाई मुद्दा चलाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाले टिपरमा आगो लगाउने उद्धव बानियाँसहित ३ जनालाई मुलुकी ऐनको आगो लगाउने महल अनुसार मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

बनेपामा भाडाको डिलर सञ्चालन गर्दै आएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ३ बानियाँ काठमाडाैंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी टिपरमा आगो लगाएको भोलिपल्ट नै थाइल्याड पुगेका थिए । थाइल्यान्डबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।



त्यस्तै घटनामा संलग्नको आरोपमा रामेछाप दोरम्बाका भीम श्रेष्ठ र काभ्रे भुम्लुका विदुर बुढाथोकीविरुद्ध पनि मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले बताए । प्रहरीले उनीहरुमाथि अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद लिएको छ ।

यसअघि अदालतले अरनिको राजमार्गको सागामा टिपरमा आगो लगाउने एक व्यक्तिलाई २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

साउन ७ गते बनेपामा टिपरले ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगो लगाएका थिए । जुन भिडियो र सामाजिक सञ्जालमा धेरै नै भाइरलसमेत बनेको थियो ।

टिपरको कब्जामा दुई लेन सडक

काठमाडौं उपत्यकामा राति ८ बजे पछिमात्रै प्रवेश गर्न पाउने भएपछि बनेपाबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक टिपरकै कब्जामा हुने गरेको छ । ८ बजेअघि काठमाडौं प्रवेश गर्न नपाइने हुनाले त्यसअघि टिपरहरु बनेपादेखि सूर्यविनायकसम्मका सडकमा राखिन्छन् ।

जसले गर्दा, राजधानीबाट जिल्ला भित्रने र जिल्लाबाट राजधानी जाने साना सवारीहरुलाई जोखिम बढेको यात्रुहरुको गुनासो छ ।

राजधानीमा मात्रै काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकबाट दैनिक १५ सयवटा भन्दा बढी गिट्टी, बालुवा, ढुङ्गा र रोडा बोकेर भित्रने गरेका छन्, साँझ ६ बजेदेखि बनेपामा टिपरको व्यवस्थापन गरेर पार्किङमा राख्न धेरै कठिनाइ भएको जिल्ला ट्राफिक कार्यालय बनेपाका प्रमुख निशेष चापागाइले बताए । ‘७ बजेपछि टिपरका हर्न र दुई लेन कब्जाले हामीलाई साह्रै मार परेको छ’, बनेपाका स्थानीय महेन्द्र श्रेष्ठले भने, ‘हर्नले घरमा केटाकेटी पुरै तर्सिन्छन्, ५० वर्ष भयो यस्तो थाहा थिएन, तर टिपरले अब साझ हिड्न नै दिदैन ।’

व्यवसायीको गुनासोः अब टिपर बैंकलाई बुझाउनुपर्छ

एउटा टिपरले दैनिक २ देखि ३ टिप सामान बोक्ने गरेको भए पनि अब २४ घण्टामा १ टिप मात्रै बोक्ने गरेको छ ।

काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीबाट भित्रने टिपरमा पर्ने आर्थिक भार अब भाउ बढाएर असुल गर्न नसकेमा टिपर बैकलाई बुझाउनुको विकल्प नभएको बाग्मती टिपर व्यवसायि संघका अध्यक्ष शेरबहादुर कुँवरले बताए ।

धेरै पटक पढिएको