बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी बल्ल तातिए, दुर्गा प्रसाईलाई कार्बाही गर्न माग - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 30, 2018

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी बल्ल तातिए, दुर्गा प्रसाईलाई कार्बाही गर्न माग

बीएण्डसी मेडिकल कलेजका सञ्‍चालक दुर्गा प्रसाईलाई कार्बाही हुनुपर्छ 
साउन १४, काठमाडौं ।  नेपालबाट एमबीबीएस अध्ययनका लागि बंगलादेश जाने विद्यार्थीबारे सार्वजनिक अभिव्यक्तिहरुप्रति लामो समय मौन रहेका बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी बल्ल तातिएका छन्।

नेपाल नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले त्यहाँ एमबीबीएस अध्ययनका लागि जाने नेपाली छात्रा शारीरिक शोषणमा पर्ने गरेको अभिव्यक्ति दिएका झापामा प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दूर्गा प्रसाईलाई सरकारले कानुनी कारवाही गर्नु पर्ने माग गरेको छ। सोमबार नेपाली दुतावासलाई ज्ञापनपत्र बुझाएको युनियनले प्रसाईलाई कारवाही नभएसम्म त्यहाँ धर्ना जारी राख्ने निर्णयमा पुगेको छ।

प्रसाईले केही महिना अघि नेपालमा डा. गोविन्द केसीको अनशनका कारण एमबीबीएस अध्ययनका लागि वर्षेनी धेरै विद्यार्थी विदेशीन बाध्य भएको, बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्रामाथि शारीरिक हिंसा हुने गरेको र त्यही कारण उनीहरुको त्यहाँको बसाई लम्बिने गरेको अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएको थियो । प्रसाईको अभिव्यक्तिलाई समर्थन गर्दै त्यस्तै अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले मन्त्रीपदबाट हात धोइसकेका छन्।

तर नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने प्रसाईलाई भने कुनै कारवाही नभएको भन्दै ठूलो समूह आक्रोसित भइरहेका बेला युनियनले प्रसाई विरुद्ध आफुहरुले सशक्त आन्दोलनमा होमिएको घोषणा गरेको हो।
युनियनले नेपाली कांग्रेसका सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएको छ। थापाको अभिव्यक्ति पनि आपत्तीजनक भएकाले उनले स्पष्टीकरण दिनुका साथै माफी माग्नु पर्ने युनियनको माग छ।

प्रसाईलाई कारवाही नभए र थापाले स्पष्टीकरण दिएर माफी नमागेसम्म ढाकास्थित नेपाली दुतावासमा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम जारी रहने युनियनले जनाएको छ ।

थापाले बंगलादेश, चीन र फिलिपिन्समा पढ्न गएका विद्यार्थीले पैसा दिएर एमबीबीएसको प्रमाणपत्र ग्यारेन्टी गरेर मात्र भर्ना हुने गरेको आपत्तीजनक अभिव्यक्ति दिएको युनियनको दाबी छ। 

युनियन अध्यक्ष राजु साहले यी दुवै व्यक्तिको अभिव्यक्तिबाट बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका नेपाली विद्यार्थीको आत्मसम्मामा ठेष लागेको बताएका छन्।

साहाकाअनुसार आन्दोलनका क्रममा आगामी साउन १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम र १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिइने छ ।

धेरै पटक पढिएको