गृहसचिव राई र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग गंगामायाको जीवन रक्षा गरिदिन माग - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, June 28, 2018

गृहसचिव राई र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग गंगामायाको जीवन रक्षा गरिदिन माग

असार १५, काठमाडौँ  । राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । 

गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटघाटमा आयोगका पदाधिकारीले सो आग्रह गरेका हुन् । 

भेटमा आयोगका अध्यक्ष अनुपराज शर्माले विगत ३० दिनदेखि आमरण अनशनमा बस्नुभएकी अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले संवेदनशील हुन आग्रह गरे । 

उनले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्न र रेडकर्नर नोटिस जारी भएका आरोपितलाई कूटनीतिक पहलमार्फत वा अन्य उपयुक्त तरिकाबाट नेपाल झिकाइ कानूनबमोजिम कारवाही गर्न आग्रह गरे  । 

सो अवसरमा गृहसचिव राईले अधिकारीको जीवनरक्षाका लागि सरकार सधैँ संवेदनशील भएको बताउँदै विधिको शासन कायम राखी दण्डहीनताको अवस्था आउन नदिन अविलम्ब पहल गरिने स्पष्ट पारे । 

प्रहरी महानिरीक्षक खनालले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै रेडकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउने प्रयास भइरहेको बताए । छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताद्वारा सशस्त्र संघर्षको समयमा हत्या गरिएकामा सर्वोच्च अदालतबाट २०७२ सालमा आरोपित छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशको कार्यान्वयन नभएको भन्दै अधिकारी अनशन बसेकी छन् । 

आयोगका सदस्य सुदीप पाठकले अधिकारीले उठाउँदै आउनुभएको विषयको सुनुवाइ नभएसम्म अनशन नतोड्ने बताएको र उक्त विषयहरु कानूनी शासन, दण्डहीनताको अवस्थासँग जोडिएको हुनाले माग सम्बोधन र मानवअधिकार रक्षाका लागि सरकारसँग पटक पटक ध्यानाकर्षण गराए पनि सम्बोधन नभएको बताए ।

अनशनकै क्रममा अस्वस्थ्य भएपछि अधिकारीको वीर अस्पतालको सघन उपचार कक्ष ९आइसियु०मा उपचार भइरहेको छ । रासस

धेरै पटक पढिएको