काभ्रे जिप दुर्घटना- ‘कन्डिसन’मा नरहेको जिप जबर्जस्ती कुदाउँदा दुर्घटनामा, पत्रकार, बहालवाला डीआईजी र मजदुर नेताको मृत्यु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, October 27, 2018

काभ्रे जिप दुर्घटना- ‘कन्डिसन’मा नरहेको जिप जबर्जस्ती कुदाउँदा दुर्घटनामा, पत्रकार, बहालवाला डीआईजी र मजदुर नेताको मृत्यु

कार्तिक ११, काभ्रे – ‘कन्डिसन’मा नरहेको जिप जबरजस्ती कुदाउँदा काभ्रेमा भएको दुर्घटनामा नेपाल प्रहरीका एक उच्च अधिकृतसहित ३ जनाको मृत्यु भएको छ।

शनिबार अपरान्ह ३ बजे भएको जिप दुर्घटनामा नेपाल प्रहरीका डिआइजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको हो।

बा३च २८७ नम्बरको जिप दुर्घटनाग्रस्त हुँदा डिआइजी भण्डारीसँगै पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश–३ संयोजक विनोद कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका भण्डारीको उपचारका लागि धुलिखेल अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अरु तीन जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा काभ्रेका ४२ वर्षका धनराज पुरी, चालक काभ्रेकै प्रदीप बोगटी र काठमाडौँका विनोदकुमार गौतम छन्।

उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिप सडकबाट झण्डै आठ सय मिटर तल खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मृतक पराजुलीका भतिजा शालिग्राम पराजुलीले जनाएका छन्।

मण्डन देउपुर नगरपालिकामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा दुर्घटना भएको पराजुली बताएका छन्।

कण्डिसनमा थिएन जिप

मण्डन देउपुरस्थित ढकालथोकमा जिप दुर्घटनाग्रस्त भएको हो। प्रत्यक्षदर्शीका अनुसार जिपको अगाडिको चक्का सडकको छेउमा रगडिएको छ।

‘दुर्घटनास्थलभन्दा केही अगाडि उकालो छ, गाडी नचढेपछि तानेर उकालो पार गराइएको थियो,’ पराजुलीले भने, ‘तेर्सो बाटो आएपछि मात्रै उहाँहरु गाडीमा चढ्नु भएको रहेछ, त्यसलगतै दुर्घटना भएछ।’

दुर्घटनास्थलमा घुम्ती छ। घुम्तीमा गाडीले सही टर्न नलिएको देखिने उद्दारका घटनास्थलमा पुगेका प्रहरीले बताएका छन्। ‘बाटो सजिलै छ, तर घुम्ती निकै अप्ठ्यारो रहेकाले गाडी अनियन्त्रित भयो, र भीरबाट खस्यो,’ काभ्रे प्रहरी स्रोत भन्यो।

उद्दार समयमै हुन सकेन

काभ्रेको मण्डन देउपुरस्थित ढकालथोकमा ३ बजेर जिप दुर्घटना भएको थियो। घटनाको जानकारी आएको ४५ मिनेटपछि मण्डन देउपुरको प्रहरी टोली पुग्यो। तर, उद्दारका लागि पाँचखाल प्रहरी चौकीबाट गएको प्रहरी टोलीलाई पनि पर्खिनु पर्‍यो।

पाँचखाल प्रहरी चौकीबाट प्रहरीको टोली करिब एक घण्टापछि मात्रै घटनास्थल पुगेको थियो। उद्दार गर्दा साढे ४ बजिसकेको थियो। ८ सय मिटरमाथिबाट भीरमा खसेको गाडीमा सवार यात्रुको अवस्था गम्भीर हुने नै भयो।

‘त्यसमाथि उद्दार कार्यमा अलि ढिलाइ भयो, डिआइजी भण्डारीको बढी रक्तश्राव भएकाले बाटैमा मृत्यु भएको बुझिएको छ,’ काभ्रे प्रहरी स्रोतले भन्यो, ‘कार्की र पराजुलीको चाहिँ दुर्घटनास्थलमै ज्यान गएको हो।’

Source: deshsanchar.com

धेरै पटक पढिएको