काभ्रेमा महिला हिंसा बढ्दो, ९ महिनामै २ सय ओटा घटना - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, November 06, 2014

काभ्रेमा महिला हिंसा बढ्दो, ९ महिनामै २ सय ओटा घटना


धुलिखेल÷ काभ्रेमा महिला र बालवालिका क्षेत्रमा हिंसा बढ्दो रहेको इन्सेकद्वारा मंगलबार धुलिखेलमा आयोजित एक कार्यक्रममा बताइयो । इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको मानवअधिकार वर्ष पुस्तकका लागि संकलित घटनाहरूको प्रकाशन पूर्व समिक्षा गर्नेक्रममा उक्त कुराको जानकारी दिइएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले मानवअधिकार वर्ष पुस्तक नेपालको मानवअधिकारको ‘ऐना’ भएकाले मानवअधिकारको अवस्थालाई ऐनाले जस्ताको तस्तै देखाउने बताए । उनले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ‘तै चुप मै चुप’ हुन नहुने उल्लेख गर्दै गरिवी, अशिक्षा, अज्ञानता र आपराधिक मानसिकताका कारण समाजमा अपराधका घटना भइरहेको बताए । इन्सेकसँग मानवअधिकार उल्लंघन र ज्यादतीका विषयमा जति घटना अभिलेख छन्, त्यति धेरै सूचना सरकारको अभिलेखमा पनि छैन’ ‐ प्रजिअ न्यौपानेले थपे ‘तर डोको सरकारको थाप्लोमा मात्र बोकाइनु हुन्न ।’

इन्सेकका मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले वर्ष पुस्तक प्रकाशन पूर्व नै समिक्षा गर्दा गल्ती–कमजोरी कम हुने भएकाले यस्तो कार्यक्रमको औचित्य रहेको बताए । मानवअधिकार संस्थाहरूको काम संचेतना, वकालत र पैरवी भएकोतर्फ ध्यानाकर्षण गर्दै उनले समयमा न्याय नदिँदा अन्याय हुने तर्क प्रस्तुत गरे । क्षेत्रीय संयोजक गौतमले काभ्रेलगायत १५ जिल्लामा शिक्षा, स्वास्थ्य र खाद्यअधिकारलाई समेटेर जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम संचालन गरेको जानकारी दिए ।

इन्सेकले काभ्रेमा अभिलेख गरेका घटनाहरूमा यस वष अहिलेसम्मकै बढी महिला र बालवालिका क्षेत्रमा भएका हिंसाका घटना देखिएका छन् । इन्सेकका काभ्रे प्रतिनिधि भोजराज तिमल्सिनाद्वारा विगत ९ महिनामा गरेको अभिलेखमा गएका वर्षहरूमा भन्दा घरेलु हिंसा बढी रहेको तथ्याङ्कले देखाएको छ । काभ्रेमा गएको वर्ष २ सय ११ ओटा घरेलु हिंसाका घटना अभिलेख भएकोमा यस वर्षको ९ महिनामा नै २ सय ओटा घटना अभिलेख भएका छन् ।

घरेलु हिंसामा सबैभन्दा बढी कूटपिट, गालीगलौज, वेवास्ता, खानलाउन नदिएको र अर्को पत्नी ल्याएर हेला गरेको देखिन्छ । घरेलु हिंसाका घटनामा पति, बुहारी, देबर र जेठानीद्वारा सताइएका घटना धेरै छन् । विशेषगरी नगरपालिकाहरूका साथै राजमार्गले छोएका साँगा, जनागाल, पाँचखाल, ज्याम्दी, काभ्रे, पात्लेखेत, फूलबारी, मेथिनकोट, खनालथोक, मंगलटार र भिमखोरीजस्ता गाविसमा महिलामाथी हिंसा बढी भएको देखिन्छ । घरेलु हिंसाका घटनाहरू बढी जनजाति र बाहुन÷क्षेत्री समुदायमा भएको पाइएको छ ।

महिला हिंसाका घटनामा यस वर्ष काभ्रेमा पतिद्वारा हत्या, सामूहिक बलात्कार, बलात्कार, बैवाहिक वलात्कार, अप्राकृतिक मैथुन, बलात्कार प्रयास, यौन दुव्र्यवहार, बहुविवाह, आत्महत्या र बोक्सीको आरोपमा कुटपिट जस्ता घटनाहरू भएको देखिन्छ । यस वर्ष अभिलेख भएका २ सय ९३ महिला हिंसाका घटनामा २८ जना वालिका, २ सय ५२ बयस्क महिला र १३ जना जेष्ठ महिला रहेका छन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्रप्रसाद शाहले स्वास्थ्यसँग सम्वन्धित समस्याहरूको समाधानका लागि जुनसुकै बेला गुनासो सुन्न तयार भएको बताए । स्थानीय शान्ति समितिका संयोजक टुल्कु लामाले शान्तिको अवस्था, सशस्त्र द्वन्द्व र संक्रमणकाल जुनसुकै समयमा पनि इन्सेकले मानवअधिकार उल्लंघनका घटना सार्वजनिक गर्ने मात्र नभएर जीवन रक्षाका धेरै काम गरेकोमा इन्सेकको प्रशंसा गरे ।

नेकपा एमालेका सचिव अशोक व्याञ्जुले समाजमा आत्मनिर्भरता र चेतना बढ्दै जाँदा घटनाहरू सार्वजनिक हुँदै गएको बताए । एकिकृत नेकपा माओवादीकी प्रतिनिधि मिना तामाङले राज्यका निकायहरूले आफ्नो दायित्वहरू भुल्न नहुने बताउँदै संक्रमणकालिन अवस्थामा त झनै गम्भीर भएर काम गर्नुपर्ने बताइन । गैसस महासंघ काभ्रेका अध्यक्ष कृष्णचन्द्र आचार्यले राजनीतिक शक्तिहरू पीडकहरूलाई बचाउन नलाग्ने हो भने मानवअधिकारको संरक्षण सम्भव रहेको बताए ।

कार्यक्रममा नेमकिपाका अध्यक्ष ऋषिराम दुलाल, नेकपा माओवादीका लेखराज गजमेर, नेकपा मालेका रणबहादुर बोहोरा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृत धनबहादुर बुढाथोकी, जिल्ला बालकल्याण अधिकृत जयराम कर्माचार्य, जिल्ला प्रहरी कार्यालय महिला तथा वालवालिका सेवा केन्द्रकी प्रमुख सिता श्रेष्ठ, द्वन्द्वपीडित समाजकी अध्यक्ष मनकुमारी रञ्जितलगायत विभिन्न संघसंस्थ।ा र कार्यलयबाट ५२ जनाको उपस्थिती रहेको थियो ।

धेरै पटक पढिएको