काभ्रेको मनमोहक आकर्षणमा लोभिंदै पर्यटकहरु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 07, 2014

काभ्रेको मनमोहक आकर्षणमा लोभिंदै पर्यटकहरु

काभ्रे जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा लिने गरिन्छ । यो जिल्ला राजधानीदेखि नजिक रहेको र यहाँका मनमोहक दृश्यहरुले गर्दा पनि सबैको रोजाईको केन्द्र बनेको हो । काठमाडौं आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरु एक पटक काभ्रेको तिमाल, धुलिखेल, नमोबुद्ध, नगरकोट र दोलालघाट पुग्ने गरेको पाईन्छ ।
यहाँ विशेष गरि धार्मिक हिसावले निकै परिचित ठाउँ नमोबुद्ध, ऐतिहासिक तामाङ्ग राजा हिञ्जेन दोर्जे दोङ्गको दरवार रहेको तिमाल नारायणस्थान र पहिलो तामाङ्ग गुरु पद्यम सम्भवले ध्यान गरेको गुफा तोङ्गसुम, कुण्ड गुफा र गेलुब गुफा लगायतका अति महत्वपूर्ण ठाउँहरुका कारण पनि यो सबैको रोजाईको केन्द्र बनेको हो । त्यस्तै तामाङ्ग समुदायको थाकथलो नै मानिएको तिमाल पनि महत्वपुर्ण छ । यसैलाई आधार बनाएर संस्कार र संस्कृति हराए तिमाल जानु भन्ने उखान सबै तामाङ्ग समुदायमा प्रचलित रहेको पाईन्छ । त्यसकारण पनि काभ्रेको तिमाल क्षेत्र निकै प्रख्यात तथा ऐतिहासिक महत्व बोकेको ठाउँको रुपमा परिचित बनेको हो ।
नमोबुद्धसंगै हिमालयको मनमोहक दृश्य नजिकबाट नियाल्न सकिने सुन्दर ठाउँ भएकोले पनि काभ्रेको सदरमुकाम धुलिखेल आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र नै बनेको छ । धुलिखेल आउने पर्यटकहरुका लागि नजिकै रहेको धार्मिकस्थलको रुपमा परिचित पनौती र बनेपा मुख्य शहर हुन् । यहाँ रहेको पनौती त्रिवेणीघाट, ९बाह्र बर्षमा एक पटक मकर मेला लाग्ने ठाउँ ० , इन्दे्रश्वर महादेवको मन्दिर घुम्न लायकको ठाउँहरु रहेको पनौती पर्यटन केन्द्रका अध्यक्ष सुरेश संैजुले बताए । उनका अनुसार पनौती र नगरकोट विहानीको सूर्योदयको दृश्य अवलोकन गर्नको लागि निकै प्रसिद्ध ठाउँ हो । गर्मीको वेलामा हिमालयको काखबाट बगेर आउने चिसो पानीको वहावसँगै याफ्टीङ्ग गर्न सकिने सुनकोशी नदीको स्पर्श गर्नु पनि धेरै मानिसहरुको चासोको विषय बनेको छ ।
त्यस्तै पर्यटकिय ठाउँको कुरा गर्नुपर्दा सुनकोशी र इन्द्रावती नदीको संगमस्थल दोलालघाट याफ्टीङ्गको मजा लिन र बोटिङ्ग गर्न रुचाउनेहरुको प्रमुख स्थल नै हो । स्थानीय माछा, तामाङ्ग समुदायको सामाजिक रहन सहनलाई अध्ययन अवलोकन गर्न सकिने भएकाले दोलालघाट अर्को महत्वपुर्ण गन्तव्य बनेको छ । दोलालघाट जानेहरु नजिकै रहेको प्रसिद्ध पलाञ्चोक भगवतीको मन्दिरमा पनि पूजाआजा गर्नका लागि पुग्ने गरेको स्थानीय राजेश कार्कीले बताए ।
पछिल्लो चरणमा स्थानीयपनको आभास दिलाउन स्थानीय खाना, त्यहीं उत्पादन हुने फलफूल र तरकारीको स्वाद दिन पाईने सुविधायुक्त होमस्टेको ब्यवस्था मिलाएपछि आन्तरिक एवं पर्यटकहरुको आगमनमा बृद्धि हुँदै आएको उनले बताएका छन् । ति दुवै ठाउँहरुमा पुग्नको लागि प्रस्थान विन्दु रहेको धुलिखेलमा होटल ब्यवसाय सञ्चालन गर्दै आएका होम बहादुर गजुरेल भन्छन् “शान्तिकाल पछि यहाँ आन्तरिक पर्यटकहरुको संख्या निकै बढेको छ ।”
उनका अनुसार विशेष सिजनहरुमा त यहाँका होटलहरु एकरदुई महिना अगाडि देखि नै बुकिङ्ग हुन्छन् । पछिल्लो चरणमा काभ्रेको तिमाल, च्यासिङ्गखर्कको कामीडाँडा, ढुंखर्क, बल्थली, पात्लेखेत, नमोबुद्ध लगायतका ठाउँहरुमा होमस्टेको माग निकै बढ्दै आएको कामीडाँडा रुपान्तरण तथा संरक्षण विकास केन्द्रका अध्यक्ष मदन सिं तामाङ्ग बताउँछन् । ति सबै ठाउँहरुमा एकै दिनमा पुगेर काठमाडौँमा फर्कन सकिने र त्यहीं केही दिन विताएर घुम्न रुचाउनेहरुका लागि होमस्टेको सुविधा भएको कारण पनि काभ्रेका ठाउँहरुमा आन्तरिक एवं बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको हो ।
यसै गरि जिल्लाको अर्को स्थान नमोबुद्ध प्राकृतिक सुन्दरताका कारण आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य भएको छ । प्रकृतिको सुन्दरतासँगै हिमाली दृश्यहरु अवलोकन गर्न पाएका कारण नमोबुद्धमा सबैको मन लोभिने गर्छ । त्यस चैत्यका पुजारी कार्साङ्गबज्र लामाका अनुसार यस पवित्र ठाउँमा बुद्ध जयन्तीमा ठूलो मेला लाग्ने गरेको छ । साथै नेवार समुदायका मानिसहरु आफ्ना आफ्न्तको देहावसान भएको ४५ दिन भित्र बत्ती बाल्नका लागि यहाँ आउने गरेको उनले बताए । दैनिक पूजापाठ तथा अवलोकन र भ्रमणका लागि मानिसहरु आउने गरेको भएता पनि यति धेरै महत्व बोकेको यो ठाउँको प्रचार प्रसार नभएको तथा कुनै पनि निकायले सहयोग नगरेको पुजारी लामा बताउँछन् ।

धार्मिक पर्यटकीय स्थल नमोबुद्धको इतिहास हेर्ने हो भने करिब ६ हजार वर्ष पुरानो भइसकेको किंवदन्तीमा उल्लेख गरिएको छ । नमोबुद्धमा भगवान गौतमबुद्ध यो क्षेत्र घुम्न आउँदा भोकले छट्पटाएर आफ्नै बच्चा समेत खान लागेकी सुत्केरी बघिनीलाई देखेर आफनो शरिरको रगत र मासु खान दिई बघिनीको प्राण रक्षा गरी आफूले प्राण त्याग गरेको र सो पूण्य कर्म गरे पश्चात अघिल्लो जन्ममा तपस्वी, ज्ञानी र अहिंसाको प्रचारकका रुपमा जन्मने वरदान पाएको भन्ने किंवदन्ती रहेको छ । यो कुरा विभिन्न ग्रन्थहरुमा समेत उल्लेख गरिएको छ । गौतम बुद्धको पहिलो जन्म भएको ठाउँका रुपमा रहेको यो क्षेत्रमा आवतजावत गर्ने पर्यटकहरुको आकर्षणका लागि विशेष खालका योजनाहरु भएमा र व्यापक रुपमा प्रचार प्रसार गर्न सके लुम्बिनी झै आकर्षक गन्तव्य बनाउन सकिने सम्भावना रहेको स्थानीय बासिन्दाहरुको भनाई छ ।
नमोबुद्ध धार्मिक हिसाबले मात्र नभई पर्यटकीयरुपले समेत राम्रो गन्तव्य रहेको यहाँको प्राकृतिक वातावरण र यहाँका विशेषताहरुले पनि देखाउँछ । यस्तै विशेषता मध्ये यहाँ रहेको पिकनिक स्पट पनि एक हो । काठमाडौं र आसपासका जिल्लाहरुबाट मानिसहरु यहाँ बसेर पिकनिकको मजा लिनका लागि आउने गरेका छन् । पिकनिकको सिजनमा शनिवार तथा विदाको समयमा धेरै वटा समूहहरु यहाँ आउने गरेका छन् । जंगलको बीचमा रहेको यो ठाउँमा हरियाली तथा मनोरम वातावरण देख्न सकिने भएका कारण पनि पिकनिकका लागि विभिन्न संघ–संस्था, स्कूल –कलेज लगायतबाट मानिसहरु आउने गरेका छन् । प्राकृतिक रुपले सुन्दर र शान्त वातावरणमा रहेको यो पिकनिक स्पटको खास विशेषता भनेको नमोबुद्धको वरपरबाट यस ‘स्पट’ सम्म तोरण टाँगेर झकिझकाउ देखिनु पनि एक हो ।

धेरै पटक पढिएको