पनौती विधुत केन्द्रको मर्मत कार्य जारी, पनौती लोडसेडिङ्ग मुक्त क्षेत्र हुने, सोलार जडान गर्ने कुरामा आशंका - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, July 10, 2014

पनौती विधुत केन्द्रको मर्मत कार्य जारी, पनौती लोडसेडिङ्ग मुक्त क्षेत्र हुने, सोलार जडान गर्ने कुरामा आशंका

अशोक महत, खोपासी
पनौती जलविधुत आयोजनालाई नेपालकै तेस्रो जलविधुत आयोजनाको रुपमा चिनिन्छ । विक्रम संवत् २०२२ सालबाट विद्युत उत्पादन सुरु गरेको पनौती जलविद्युत आयोजना ऐतिहासिक ५० वर्ष पुरानो भएको छ ।
पुरानो हुदा आयोजनाका मेसिनरी सामान पनि जिर्ण हुदै गैरहेका छन् । मुलुकै तेस्रो जलविद्युत आयोजना रहेको काभ्रेमा ५० वर्षको अवधिमा भने एउटै ठुलो आयोजना बन्न सकेको छैन । २४ सय किलोवाट अर्थात २.४ मेगावाट विद्युतको क्षमता भएको पनौती जलविद्युत केन्द्रबाट अहिले ५ सय किलोवाट मात्र विद्युत उत्पादन भैरहेको छ ।
हाल पनौती नगरपालिकाको खोपासी, बल्थली, साल्मिटार, च्याम्राङबेसी, चलालगणेस्थान, ढुंखर्क, पार्थली, च्यासिङखर्क, महांकाल भुगदेउ क्षेत्र लोडसेडिङ मुक्त रहेका छन् ।
पानीको स्रोत घट्दै जानु र विजुलीको माग बढ्दै गएकोले एकवर्ष अघिदेखी लोड धान्न नसकेर दैनिक पिक आवरमा २ घण्टा लोडसेडिङ गरिरहेको छ । यही कारणले गर्दा केन्द्रको उत्पादन क्षमताको ८० प्रतिशत भन्दा कम विद्युत उत्पादन भएको प्राविधिकहरुको भनाइ रहेको छ ।
तत्कालीन समयमा नेपाल र सोभीयत संघको आर्थिक तथा प्राबिधिक सहयोगमा संयुक्त लगानीमा निर्माण भएकोे जलविद्युत केन्द्रमा सम्पूर्ण सामानहरु बिदेशवाट ल्याईएको कारण समानहरु विग्रदा फेर्न समेत समस्या हुने गरेको प्राविधिकहरु बताउँछन् ।
पनौती जलविद्युत केन्द्रले अहिले विग्रिएका टरवाईन लगाएतका मेसिनरी सामानको मर्मत कार्य गरिरहेको बताएको छ । ‘अहिले टरवाईनहरुको मर्मत कार्य भैरहेको छ’, केन्द्रका प्रमुख ईन्जिनियर मोहमत सफिद भन्नुहुन्छ, ‘मर्मतको काम सकिएपछि विद्युत केन्द्रबाट १.२ मेगावाट विजुली उत्पादन हुन्छ ।’
उक्त आयोजनाबाट विजुली उपभोग गरिरहेका उपभोक्ताहरुलाई केहि समयका लागी राष्ट्रिय प्रसारणकै लाईन जोडिएको छ ।
‘आफ्नै विद्युत केन्द्र रहेको पनौती बजार लोडसेडिङ्गको अध्यारोमा बस्न बाध्य रहेको छ’, काभ्रेका संविधान सभा सदस्य रामहरी सुबेदी भन्नुहुन्छ, ‘केहि महिनामा विद्युत आयोजनालाई पुर्ण क्षमतामा चलाएर पनौती नगरपालिकालाई लोडसेडिङ्ग मुक्त गरी झलमल पार्ने कामको लागी दौडधुप गरिरहेको छु ।’
सरकार र स्थानिय निकायले सामान्य पहल गरेमा पुर्ण क्षमतामा बिद्युत निकाल्न सकिने स्थानीयहरु बताउने गर्दछन् ।
पनौतीबाट उत्पादन भएको विजुली सिधा राष्ट्रिय प्रसारण केन्द्रको लाईनमा पठाउने गरिन्छ । र राष्ट्रिय प्रसारण मार्फत भक्तपुरबाट आएको लाईनलाई ट्रान्फरमरमा  जोडेर उपभोक्तालाई पठाउने गरिन्छ ।
‘यहाँबाट निकालिएको विजुली सिधै उपभोक्ताको घरमा पु¥याईन्छ भन्ने स्थानीय जनतामा भ्रम रहेको छ’, विद्युत केन्द्रका प्रमुख ईन्जिनियर सफिद भन्नुहुन्छ, ‘हामीले त यहाँबाट विजुलीमात्र निकाल्ने हो, काता लोडसेडिङ गर्ने अनि कता बत्ती दिने भन्ने काम विद्युत वितरण केन्द्रको हुन्छ ।’
केन्द्रका अनुसार विद्युत आयोजनाका वरपरका क्षेत्रमामात्र १२ सय मेगावाट विजुलीको माग रहेको छ । तीनवटै टरर्वाइन पुर्णरुपमा संञ्चालनमा आए पनि नयाँ ट्रान्सफर्मर नफेरेसम्म जारी २ घण्टाको लोडसेडिङ्ग हटाउन नसकिने आयोजनाले बताएको छ ।
विशेष गरि साँझको समयमा विद्युतको खपत बढी हुनेहुदा लोड धान्न नसक्ने हुनाले ६ एमभिए र ५ एमभिए क्षमताका नयाँ ट्रान्सफर्मर जडान गर्न सकिएमा पनौती नगरपालिका क्षेत्रलाई लोडसेडिङ्गमुक्त क्षेत्र बनाउन सकिने प्राविधिकहरु बताउछन् ।
पानीको बाहब र स्रोतमा कमी हुदै जानु र माग बढदै जानुले उर्जाको वैकल्पिक स्रोतको रुपमा उर्जा मन्त्रालयले सोलार उर्जाको अवधारणा अगाडी सारेको छ । पनौती जलविद्युत केन्द्र सहित देशभर रहेका कुलेखानी पहिलो र दोश्रो, त्रिशुली, देवीघाट, सुनकोशी , फर्पिङ र हेलम्बुमा छुट्टाछुट्टै मेगावाट भाग लागएर सोलार प्यानल जडान गरिने सरकारको योजना रहेको छ । २० मेगावाटको सोलार प्यानल योजना अन्र्तगत ४÷५ मेगावाट पनौती विद्युत केन्द्रलाई पार्ने योजना रहेको ईन्जिनियर सफिदले बताउनुभयो ।
यद्यपी सोलार सिस्टम जोड्नको लागी सर्वे भैसकेपनि काम हुनेमा आफुहरुलाई विश्वास नभएको पनौती जलविद्युत केन्द्रका कर्मचारीहरु बताउँछन् । चार महिना अगाडी नै काम सुरु भैसक्नु पर्नेमा अहिलेसम्म सिन्को पनि भच्ने काम नभएको कार्यालयका अकाउन्टेन भोजराज बरालले बताउनुभयो ।
एसियाली विकास बैंकको सहयोगमा हुनलागेको यो योजना पुरा भएमा देशभरबाट राष्ट्रिय प्रसारण लाईनमा २० मेगावाट विजुली थप हुने देखिन्छ ।
खोला नभएकै कारण जिल्लामा विद्युत उत्पादन नभएको भने होईन । नेपाल सरकारको सहयोगमा विभिन्न साना लघु जलविद्युत आयोजनाहरु निर्माण भैरहेका छन् । जिल्लाका कोसीपारी र डाँडापारी क्षेत्रमा मंगलटार, पोखरीचौरी, मादनकुडारी, बुढाखानी, साल्मेचाकल, कात्तिकेदेराली, भिमखोरी, माझिफेदा, मिल्चे, घर्तिछाप, गोकुलेलगाएतका ठाउँमा लघु जलविद्युत आयोजनाहरु निर्माण गरिएको जिल्ला विकास समितिका जिल्ला वातावरण तथा उर्जा अधिकृत संजिबकुमार लालले बताउनुभयो ।
रोसी खोला, भैसेखोला, चौरीखोला, लड्कुखोला, च्याल्टी खोला, खाना खोला, वाफल खोला र घट्टेखोलामा जलविद्युत आयोजना बनाउन सकिने सम्भावना रहेको विभिन्न कम्पनीले अनुमतिपत्र लिएका छन् । तर ती कम्पनीहरुले काम भने अहिलेसम्म गरेका छैनन्
निर्माण भएका सबै साना आयोजनाको उत्पादन जाड्दा पनि १ मेगावाट नपुग्ने काभ्रे जिविस, जिल्ला उर्जा विकास अधिकृत सञ्जीवकुमार लालको भनाई छ ।
सम्भाव्यता हेरेर जिल्लामा पनि मध्यमस्तरका जलविद्युत आयोजनाहरु निर्माण गर्न सकिएमा पुरै जिल्ला नै लोडसेडिङ्ग मुक्त जिल्ला हुने देखिन्छ ।

धेरै पटक पढिएको