काभ्रेमा सडक दुर्घटनामा वृद्धि, दुर्घटना हुनुमा चालकहरु ९० प्रतिशत दोषि, १५ हजार ६५४ ओटा सवारीसाधन कारवाहिमा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 11, 2014

काभ्रेमा सडक दुर्घटनामा वृद्धि, दुर्घटना हुनुमा चालकहरु ९० प्रतिशत दोषि, १५ हजार ६५४ ओटा सवारीसाधन कारवाहिमा

 अशोक महत, बनेपा
देशभर सडक दुर्घटनाको संख्या दिनप्रतिदिन बढिरहेको छ । सवारीमा यात्रा गर्दा होस, सडक छेउ पैदल हिड्दा अथवा आफैले सवारी साधन चलाउदा अलिकति मात्र लापर्वाही वा बेवास्ता गरियो भने ठुलो दुर्घटनामा पर्ने जोखिम रहेको हुन्छ । नेपाल सडक दुर्घटनाको क्षेत्रमा अत्यन्त जोखिम देशहरु मध्ये पर्दछ ।
सवारी चलाउदा मादक पदार्थ सेवन गर्नु, बसको क्षमता भन्दा बढी छतमा यात्रु राख्ने, अधिक गतिमा सवारीसाधन हाक्ने र सडकमा हिड्ने पैदल यात्रीको गल्तीले पनि सडक दुर्घटना हुने गरेका छन् । महानगरीय ट्राफिक महाशाखाको तथ्याकं अनुसार नेपालमा हरेक दिन औसत ५ जना मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।
काभ्रेमा गत वर्षको तुलनामा यो वर्ष सडक दुर्घटनाको संख्यामा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०६९÷७० मा २९ वटा सडक दुर्घटना भएका थिए । जसमध्ये २४ जनाको मृत्यु भएको थियो । यस्तै आर्थिक वर्ष २०७०÷७१ मा दुर्घटनाको संख्या बढेर ३५ पुगेको छ । जसमा मृतकको संख्या भने १८ रहेको छ ।  तीन वर्ष अगाडी अर्थात २०६८÷६९ मा ५८ वटा दुर्घटना भएका थिए । तीन वर्ष अगाडी दुर्घटनाको अत्याधिक रहेको थियो भने विचको वर्षमा दुर्घटनाको संख्यामा केहि कमी आएको र अहिले पुनः सडक दुर्घटनाको संख्यामा वृद्धि भएको देखिन्छ ।
‘सडक दुर्घटनामा सबैभन्दा बढी दोषि चालकहरु नै हुन्छन्’, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुनिल मल्ल भन्नुहुन्छ, ‘सवारी साधन चलाउने चालकहरु दुर्घटना हुनुमा ९० प्रतिशत दोषि हुन्छन् त्यस पछि मात्र पैदल यात्रु, सडक, चौपायलगाएतका अन्य कारण आउछन् ।’
मोटरसाईकल, बस, टिपर, कारलगाएतका अन्य विभिन्न सवारी साधनका चालकहरुले आफ्नो सवारीको गति, आफ्नो बसमा क्षमता भन्दा बढी यात्रु राख्ने÷ नराख्ने, ट्रफिक नियम पालनालगाएतका कार्यहरु ईमान्दारीका साथ पालना गर्ने हो भने सडक दुर्घटना ९५ प्रतिशतले कमी हुने प्रहरी निरिक्षक मल्लले बताउनुभयो । ट्राफिक नियमको उलंघन गर्ने होडले पनि दुर्घटना बढाएको देखिन्छ ।
अपरिपक्क सिकाई, मादक पदार्थ सेवन, प्रतिष्पर्धाको भावना र ओभरटेक, ट्राफिक नियमको उलङ्घन, ओभर कन्फिडेन्ट, तीव्र गति, अस्तव्यस्त र गुणस्तरहीन सडक, जनमानसमा ट्राफिक नियमको जानकारीको कमि सडक दुघटनाका मुख्य कारक तत्व हुन् ।
सबैभन्दा बढी मोटरसाईकल र टिपर अत्याधिक गतिका कारण एक–आपसमा ठोक्किएर दुर्घटना हुने गरेका छन् । टिपर दुर्घटनामा परेका प्राय सबैको मृत्यु हुने गरेको छ भने मृत्यु हुनेमा विशेषगरी मोटरसाईकल चालकहरु नै हुने गरेका छन् ।
आफुहरुले संञ्चालन गरेका बसका कर्मचारीमा ट्राफिक नियमको चेतनामा कमी रहेका स्वीकार गर्दै काभ्रे मिनिबस सेवा समितिका सदस्य विदुर खत्री भन्नुहुन्छ, ‘साना सवारीसाधनहरु आफै ठुला सवारीमा ठोक्किदा भएको दुर्घटनामा पनि ठुला सवारीलाई नै दोष दिने प्रवृत्ति ठिक नभएको बताउनुहुन्छ ।’
यद्यपी सडक प्रयोग गर्ने पैदल यात्रुले पनि सडक पार गर्दा जेब्रा क्रसिङको प्रयोग नगरी लापर्वाहि रुपमा सडकको प्रयोग गर्दा पनि दुर्घटना हुने गरेका छन् ।
समितिले आगामी महिना आफु मतहतका सम्र्पूण बसका चालक, सहचालक, सहयोगी र व्यवशायीलाई ट्राफिक नियमका बारेमा सचेतना सम्वन्धि तालिम दिने भएको छ । समितिका सदस्य विदुर खत्रीका अनुसार काभ्रे मिनिबस सेवा समितिका १२० वटा बसहरु संञ्चालनमा रहेका छन् र प्रत्येक बसका ४÷४ जना सदस्य गरी कुल ४८० भन्दा बढीलाई ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयको समन्वयमा प्रशिक्षण दिन लागिएको हो ।
काभ्रेमा रहेका अरनिको राजमार्ग लगाएतका अन्य सडकहरुमा अत्याधिक दुर्घटना हुने क्षेत्रहरुमा भैँसेपाटी, अठ्ठाईस किलो, बाँसघारी, खावा, पचास किलो, बाउन्न किलो, दाप्चा पुल, खड्पुलगाएतका रहेका छन् ।
ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले कारवाहि गर्ने कार्यलाई पनि तिब्रता दिईरहेको छ । कार्यालयले आर्थिक बर्ष २०७०÷७१ मा १५ हजार ६५४ ओटा सवारीसाधन कारवाहिमा परेका छन् । जसबाट ३८ लाख ५३ हजार १५० रुपँैया राजस्व गरेको प्रहरी निरिक्षक सुनिल मल्लले बताउनुभयो । जेठ महिनामा मात्र कार्यालयले कारवाहि स्वरुप ७ लाख ४९ हजार २०० रुपैँया राजस्व संकलन गरेको छ ।
यस्तै कार्यालयले अरनिको यातायत र विपी यातायातसंग सम्वन्धित रहि चल्ने विभिन्न यातायातसंग सहकार्य गरी आठ सय जना भन्दा बढी चालक तथा सहचालकलाई ट्राफिक सम्वन्धि जनचेतना मुलक कार्यक्रम गरेको छ । राडार गन प्रविधिको सहयोगमा अधिक गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाक्नेलाई जिल्लाका विभिन्न २५ ठाउँबाट चेक–जाचका क्रममा कारवाही गरिएको छ । साथै यस्ता चेक–जाच र कारवाहिका प्रक्रिया अझै प्रभावकारी रुपमा अगाडी लैजाने योजना रहेको मल्लले बताउनुभयो ।
नेपालमा सडक दुर्घटना र त्यसपछि मानवीय नोक्सानी संगै हुने कानुनी कारवाही फितलो भएकाले पनि दुर्घटनाको आंकडा उकालो लागेको अध्यनले देखाएको छ । यदि राज्यले दरिलो कानुन ल्याउने र सडक प्रयोगकर्ताहरु पनि संवेदनशील बन्ने हो भने, सडक दुर्घटनासंगै हुने मानवीय नोक्सानी कम गर्न सकिन्छ । पूर्ण रुपमा ट्राफिक नियमको पालना सबैले गरेमा हुने गरेको दुर्घटनाहरु स्वतः घटेर जाने देखिन्छ ।

धेरै पटक पढिएको