सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, October 25, 2018

सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा

कात्तिक ८, काठमाडौं  ।   सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार (आज)सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत अवस्थामा रहेसँगै सुनको मूल्य पनि बढेको हो। नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्य बढेको व्यवसायी बताउँछन्। यसअघि २०६९ भदौमा ६३ हजार रुपैयाँसम्म सुनको कारोबार भएको थियो।

त्यसयता ६० हजारमुनि रहेको सुनको मूल्य हिजो ६० हजार १ सय रुपैयाँ पुग्यो। आज ३ सय रुपैयाँले सुनको मूल्य बढेको हो। दसैँ सकिएर तिहार नजिकिँदै गर्दा सुन महँगो भएपछि व्यवसाय समेत प्रभावित भएको व्यवसायी बताउँछन्। ‘अहिले सिजन भएकाले सुनको कारोबार उच्च हुने गरेको छ, तर मूल्य उच्च हुँदा केही प्रभाव पारेको छ’ महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने।

कमजोर भारुका साथै विश्वका मजबुत सेयर बजार घट्नुले पनि लगानीकर्ता सुनमा आकर्षित हुँदा माग बढेको भारतीय संचारमाध्यमले जनाएका छन्।

सुनको मूल्य बढ्दा व्यापार घाटा बढ्न जान्छ। अझ पछिल्लो समय नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको कोटा बढाएर २५ केजी पुर्याएको छ। वाणिज्य बैंकहरुले पालैपालो तोकिएको परिमाणमा सुन ल्याएर व्यवसायीहरुलाई बिक्री वितरण गर्ने गरेका छन्।

मूल्य र परिमाण सँगै बढेर जाँदा आगामी दिनमा सुनका लागि बाहिरिने रकममा उच्च वृद्धि हुनेछ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष सुनको आयातका लागि ३२ अर्ब २० करोड रुपैयाँ बाहिरिएको छ। विदेसिएका नेपालीले ल्याउनेका सुनका गहनाको हिसाव यसमा छैन। विदेसिएका नेपालीले ५० ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ।

धेरै पटक पढिएको