अस्पतालमै शिशु साटियो, छोरी जन्माएकी सुत्केरीलाई छोरा दिएर घर फर्काइयो - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, September 06, 2018

अस्पतालमै शिशु साटियो, छोरी जन्माएकी सुत्केरीलाई छोरा दिएर घर फर्काइयो


भदौ २२,धनगढी । डडेल्धुराको आलितालकी भावना आफन्तसँगै आफ्नो १७ दिनको बिरामी नवजात शिशु (छोरा) ल्याएर भदौ १७ गते सेती अञ्चल अस्पताल भर्ना भइन्। निमोनियाले ग्रसित उनका छोरालाई चिकित्सकहरुले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराए। 

भदौ १७ गते नै सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा कैलालीको गोदावरी गाउँपालिकाकी काली खातीले पनि छोरी जन्माइन्। उनको नवजात छोरीको स्वास्थ्यमा पनि समस्या देखिएकाले चिकित्सकले एनआईसीयुमा पठाए।

भदौ १८ गते काली खातीको शिशुलाई सञ्चो भयो र उनलाई चिकित्सकले डिस्चार्ज गरे। एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मीले खातीलाई छोरीको सट्टा, भावना बोहराको १७ दिनको छोरो ल्याएर थमाई दिए। खाती शिशु लिएर धनगढीबाट झण्डै २५ किलोमिटर टाढा गोदावरी नगरपालिकास्थित आफ्नो घर जमुनाभाडी पुगिन्। 

घरमा पुगेर शिशुको शरीर पखाल्न लुगा खोलेपछि मात्रै उनले शिशु साटिएको चाल पाएकी थिइन्। ‘म घरमा पुगेपछि बच्चाले दिसा ग¥यो, पखाल्न उसको लुगा फुकालेको त, छोरो देखे म अचम्ममा परे, घरकालाई बताए, हाम्रो त छोरी भएको, तर घरमा छोरा आयो भने’ उनले भनिन्। एकै दिनका सबैतिर हल्लाखल्ला भयो। यता अस्पतालमा पनि हल्लाखल्ला भइसकेको थियो।  

एकै छिनपछि उनलाई अस्पतालबाट फोन आयो। उनलाई अस्पताल बोलाइयो। अनि साटिएको बच्चा आ–आफ्नो अभिभावकको जिम्मा लगाइयो। निको भइसकेको छोरो बोकेर डडल्धुराको आलितालकी भावना बोहरा घर गइसकेकी छिन् भने काली खाती बिहीबार पनि सेती अञ्चल अस्पतालमै भर्ना छिन्।

धेरै पटक पढिएको