शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण आज: के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ? - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, July 26, 2018

शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण आज: के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

साउन ११, काठमाडौ । नेपालसहित विश्वका अधिकांश क्षेत्रमा आज गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा आज यो शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण लाग्दैछ ।

नेपाल, भारतसहित एसिया, अस्ट्रेलिया, रुससहित युरोप तथा केही अफ्रिकी देश र उत्तर अमेरिकाका अधिकांश ठाउँबाट यो चन्द्र ग्रहण देखिने छ । यो चन्द्र ग्रहणलाई ब्लडमून पनि भनिएको छ ।

चन्द्र ग्रहणका बेला चन्द्रमा केही समय तामा धातु जस्तो हुने र केही समय पूरै रातो हुने भएकाले यो ग्रहणलाई ब्लडमून भनिएको हो । १०० वर्षपछि यस्तो संयोग आएको खगोलविदले बताएका छन् ।

चन्द्र ग्रहणको अवधि ३ घण्टा ५७ मिनेट लामो हुनेछ । राति १२ बजेर ९ मिनेटमा स्पर्श हुने र राति १ बजेर १५ मिनेटमा ग्रहणले पूर्ण खग्रास प्रारम्भ हुने ज्योतिस पण्डित नारायणप्रसाद दुलालले जानकारी दिएका छन् ।

राति २ बजेर ८ मिनेटमा खग्रासको मध्य तथा २ बजेर ५९ मिनेटमा अन्त्य हुँदै शनिबार बिहान ४ बजेर ६ मिनेटमा मोक्ष हुने उनले बताएका छन् । ग्रहणको कुल अवधि ३ घण्टा ५७ मिनेट भए पनि खग्रास ग्रहण भने १ घण्टा ४४ मिनेट लाग्नेछ ।

ग्रहणको सूतक र के गर्नु हुँदैन ?
ग्रहण मध्य रातमा लाग्ने भए पनि त्यसको सूतक चाँडै नै सुरु हुन्छ । शास्त्रमा सूर्य ग्रहणको १२ घण्टा तथा चन्द्र ग्रहणको ९ घण्टा अघि नै सूतक सुरु हुने कुरा उल्लेख रहेको पण्डित दुलालले बताएका छन् ।

यसको अर्थ शुक्रबार दिउँसो ३ बजेर ९ मिनेटदेखि नै सूतक सुरु हुन्छ । यो समयदेखि नै बालबालिका, बृद्धबृद्धा, रोगी, गर्भवती बाहेक अरुले खाना खान नहुने उल्लेख गरिएको छ ।

ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, औजारको प्रयोग गर्ने, भूमि खन्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताको मूर्ति तथा तुलसीको बोट स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको उनले बताएका छन् ।
ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा नदी, तलाउ, पोखरी, तिर्थस्थलसहितका ठाउँमा गएर स्नान गर्ने तथा जीवजन्तुका लागि आहरा दान गर्ने गरिन्छ । यसले राम्रो फल दिने विश्वास गरिन्छ ।

यस्तै ग्रहणको समयमा मन्त्र जप गर्ने, ध्यान तथा होम गर्नु पनि राम्रो हुने विश्वास रहिआएको छ ।

ग्रहणको समयमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ ।

कुन राशीलाई कस्तो फल ?
यसपटकको खग्रास चन्द्रग्रहण उत्तरषाढा र श्रवण नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म उत्तरषाढा र श्रवण नक्षत्रमा कुनै पनि शुभकार्य वर्जित हुन्छ ।

यसका साथै उत्तरषाढा र श्रवण अर्थात मकर राशीमा ग्रहणको योग परेककाले विशेषगरी मकर राशी तथा मकर लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ ।

अरु राशीको कुरा गर्दा मेष राशी हुनेलाई ग्रहणको राम्रो प्रभाव रहेको छ । यो राशी हुनेलाई सुख मिल्ने देखिएको ज्योतिषले बताएका छन् ।

यस्तै वृष राशी भएकाहरुलाई मानहानी हुने, मिथुन राशीकालाई कष्ट हुने, कर्कट राशीका लागि स्त्री पीडा हुने, सिंह राशीका लागि सुखद रहने, कन्यालाई चिन्ता, तुलालाई समस्या बढ्ने, बृश्चिकलाई सम्पत्ति प्राप्त हुने, धनुलाई क्षति हुने, कुम्भको खर्च बढ्ने तथा मीनलाई लाभ हुने योग रहेको बताइएको छ ।

धेरै पटक पढिएको