विषादी न्युनिकरणमा आफुहरु असफल भएको कृषिद्धारा स्वीकार, काभ्रेको तरकारी काठमाडौँ निर्यात रोक लगाईएकोे कुरा भ्रम मात्र, विषादीे हालेर बाली नटिप्न किसानलाई सुझाव, विषादी न्युनिकरणको बृहत कार्यक्रम छिट्टै - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, July 24, 2014

विषादी न्युनिकरणमा आफुहरु असफल भएको कृषिद्धारा स्वीकार, काभ्रेको तरकारी काठमाडौँ निर्यात रोक लगाईएकोे कुरा भ्रम मात्र, विषादीे हालेर बाली नटिप्न किसानलाई सुझाव, विषादी न्युनिकरणको बृहत कार्यक्रम छिट्टै

     अशोक महत, पनौती 
काठमाडौँ उपत्यकामा खपत हुने तरकारीको तीस प्रतिशत हिस्सा ओगटेको काभ्रेको तरकारी खपतमा गिरावट आएको छ । गतहप्ता काठमाडौँस्थित कालिमाटी तरकारी बजारमा राखिएको प्रयोगशालाले गरेको तरकारीको परिक्षण (¥यापिड टेस्ट)मा काभ्रेको तरकारीमा पनि विषादीको अंश भेटिएपछि उपत्यकावासीमा काभ्रेको तरकारी प्रति गलत सन्देश प्रवाह भएको छ । कृषि विभागको बाली संरक्षण निर्देशनालयले कालिमाटीमा आउने तरकारीमा विषादीको अवशेष भए नभएको पत्ता लगाउन गत महिना मात्र परिक्षण प्रयोगशाला स्थापना गरेको हो ।
प्रयोगशालामा व्यवशायीक रुपमा तरकारीको खेती गरिरहेका काभ्रे, मकवानपुर, भक्तपुर, काठमाडौँ, धादिङ, चितवन, बारा र पर्सासहित ८ वटा जिल्लाको तरकारीको परिक्षण गरिएको थियो । ‘काभ्रेको तरकारीको ३८ वटा नमुना प्रयोगशालामा परिक्षण गरिएको थियो’ जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेबप्रसाद हुमागाईले भन्नुभयो, ‘जसमध्ये तरकारीका ८ वटा नमुनामा विषादीको अवशेष उच्च पाईएको थियो ।’ यो परिक्षणले जिल्लाका किसानलाई विषादीको प्रयोग कम गर्न झक्झकाएको छ ।’
काभ्रेका नाला क्षेत्रको काउली, पनौतीको आलु र पाँचखालको हरियो खुर्सानी र बोडीमा विषादीको अवशेष धेरै पाईएको थियो ।
कृषि विकास मन्त्रालय कृषि विभागले विषादी भेटिएका जिल्लाका किसानहरुलाई विषादी सम्वन्धि जनचेतनाका कार्यक्रम, पर्चापम्प्लेट, तालिम, विषादीको सुरक्षित प्रयोग कसरी गर्ने भन्ने विषयमा कार्यक्रमहरु ल्याउन निर्देशन दिएको छ ।
विषादीकै कारण काठमाडौँको बजार गुम्यो भने आर्थिकस्तर खस्कने कुरालाई मनन गरेर काभ्रेका किसानहरु आफै पनि सजग हुन थालेका छन् भने केही चिन्तित पनि बनेका छन् ।
‘विषादी भेटिएका जिल्लाका तरकारीहरु काठमाडौँ बेच्न रोक लगाउने भन्ने कुरा सरासर गलत र भ्रम मात्र हो’ अधिकृत सहदेबप्रसाद हुमागाई भन्नुहुन्छ, ‘परिक्षणमा विषादी भेटिएका तरकारीको लट मात्र विक्रीको लागी प्रतिवन्ध हो । विषादी नभेटिएका कुनै पनि ठाँउ र जिल्लाका तरकारी निर्यातमा रोक लगाईएको छैन ।’ विषादी हालिएको तरकारी भएपनि विषादीको प्रभाव कम भएपछि बेच्न सकिन्छ, प्रयोगशालामा परिक्षण गर्दा विषादीको अवशेष कम भैसकेको हुन्छ ।’ विभिन्न सञ्चार माध्यममा आएका समाचारले काभ्रेका किसानमा भ्रम र त्रास मात्र सिर्जना गरेको उहाले दावी गर्नुभयो ।
तरकारीमा विषादीको प्रयोग पछि बाली अथवा उत्पादन टिप्ने एउटा निश्चित अवधि रहेको हुन्छ । विषादीको प्रयोग पछि बाली टिप्न पर्खनु पर्ने अवधिको किसानहरुले ख्याल नगर्दा अहिलेको समस्या आएको अधिकृत हुमागाईले प्रष्ट पार्नुभयो । कुनै पनि विषादीको कडा असर केहि दिनसम्म रहने गर्दछ । विषादी हालेको २÷४ दिन पछि तरकारी टिप्दा विषादीको असर कम भैसकेको हुन्छ ।
किसानहरुले कुरा नै नबुझि अनावश्यक विषादी प्रयोग गर्ने गरेको बताउदै अधिकृत हुमागाईले प्रतिबन्धित कडा भन्दा कडा र रोग एउटा लागेको छ, विषादी भने अर्कै प्रयोग गर्ने प्रवृत्तिले स्वयम् किसान, उपभोक्ता र वातावरणलाई पनि असर परिरहेको बताउनुभयो ।
‘तरकारीमा रोग देखिएपछि विषादी हाल्नुको विकल्प नै छैन’ पाँचखालका किसान कृष्ण अधिकारी भन्नुहुन्छ, ‘जिल्ला कृषि कार्यालयले रासायनिक विषादीको विकल्प आईपिएम विधि र जैविक विषादी सम्वन्धि चेतना मुलक तालिम दिनुपर्ने त्यो दिन सकेन, अनि यो अवश्था आयो ।’
जिल्लाका किसानहरुले सरकारी निकाय जिल्ला कृषि विकास कार्यालय नै विषादी प्रयोग गर्नेतर्फ सचेत नभएको बताएका छन् । ‘हामी तरकारीमा लागेको रोगको बारेमा एग्रोभेट पसलमा भन्छौ पसलेले जुन विषादी दिन्छ त्यही हाल्छौ, पनौतीका एक किसानले भने ।
कार्यालयले ३ दिनको तालिम दिएर खुद्रा विषादी क्रिकेताको लाइसेन्स दिने गरेको छ । विषादी बिक्री गर्न पसल सञ्चालन गरिरहेका व्यवसायीहरु पनि संवेदनशील नबनेको किसानहरुले आरोप लगाएका छन् ।
कार्यालयल अब छिट्टै किसानहरुलाई रासायनिक विषादीको प्रयोग कम गराउन, कुन रोगको लागी कुन विषादी प्रयोग गर्ने र यसको विकल्पमा जैविक र बनस्पति विषादीको प्रयोग गर्ने तरिकाको तालिम दिने साथै एग्रोभेट संञ्चालकहरुलाई पनि रोगकिराको सही पहिचान नभैकन विषादी नगर्ने विषयमा तालिम दिने भएको छ ।
कृषि कार्यालयले गरेको एक अध्ययन अनुसार २० प्रतिशत किसानले मात्रै जिल्ला कृषि विकास कार्यालय र सेवा केन्द्रहरुको प्राविधिक सेवा लिने गरेका छन् भने बाँकी ८० प्रतिशत किसान भारतीय झोले ब्यापारी र एग्रोभेट सञ्चालकहरुमा निर्भर हुने गरेका छन् ।
जीवनाशक विषादी ऐन २०४८, नियमावली २०५० र यसको पहिलो संशोधन २०६४ ले विषादी आयात, उत्पादन र किनबेच गर्नुपूर्व विषादी निरीक्षकको स्वीकृत लिनुपर्ने प्रावधान रहे पनि जिल्लाका कुनै पनि एग्रोभेट सञ्चालकहरुले त्यसो गरेका छैनन् । नेपाल सरकारले प्रतिबन्ध लगाएको विषादी विभिन्न छुटको लालच देखाउदै बिक्री गर्ने गरेको पाइएको छ । नियन्त्रणका लागि धेरै पहल गरिएपनि सफलता हात पर्न सकेको कार्यालयले जनाएको छ ।
विषादी न्युनिकरण र प्रयोगका विषयमा आफुहरुले किसान तथा एग्रोभेटरुलाई चेतनामुलक कार्यक्रहरु पर्याप्त मात्रामा सबैमाझ पु¥याउन नसक्दा पनि अहिलेको समस्या आएको स्विकार गर्दै अधिकृत हुमागाईले अब पुर्ण क्षमतामा गाविस, नगरपािलका, जिविस, कृषिको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था, कृषि सेवा केन्द्र लगायत सबैको सहयोग लिएर गाँउगाउँमा विषादी न्युनिकरणको कार्यक्रम लिएर जाने योजना रहेको बताउनुभयो ।
यसैविच कृषि विकास मन्त्रालयको सहकार्यमा काभ्रेमै पहिलो पटक उग्रचण्डी नालामा प्राङगारिक (जैविक) मल कारखाना स्थापना गरिएको छ । अत्याधिक विषादीले काभ्रेको माटोको उत्पादकत्व कम हुदै गैरहेको अवश्थामा प्राङगारिक मल कारखानाले ठुलो राहत दिने कृषि कार्यालयले जनाएको छ । कृषि विकास मन्त्रालयले कारखानको सम्पुर्ण मेसिनरी सामानमा ५० प्रतिशत अनुदान दिएको छ भने १ करोड १४ लाख रकम उपलब्ध गराएको छ ।
जिल्लामै खुलेको प्राङगारिक (जैविक) मल कारखाना र कुृषि कार्यालयको विषादी न्युनिकरणको कार्यक्रमले काभ्रेको तरकारीहरु निकट भविष्यमा नै पूर्ण रुपमा रासायनिक विषादी मुक्त हुने र उपभोक्तमाझ परेको नकारात्मक छाप पनि मेटिने देखिन्छ ।

धेरै पटक पढिएको