काभ्रेका सहरी क्षेत्रमा पनि स्ट्रिट फुड फस्टाउदै, एउटै व्यापारीले गर्छन २ लाखको कारोवार, फास्टफुड स्वास्थ्यको लागि हानिकारक - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, July 10, 2014

काभ्रेका सहरी क्षेत्रमा पनि स्ट्रिट फुड फस्टाउदै, एउटै व्यापारीले गर्छन २ लाखको कारोवार, फास्टफुड स्वास्थ्यको लागि हानिकारक

अशोक महत, पनौती
सहरी क्षेत्रमा बसोबास गर्ने जनताहरुमा घरबाहिर खाने चलन बढेको छ । लञ्च र डिनर खाने भन्दै रेस्टुराँ र होटल पुग्ने प्रवृती युवामाँझ ज्यादा रहेको छ । राजधानीमा व्यापक रुपमा फस्टाएको सडकका छेउमा ठेलागाडामा राखेर बेचिने मःम, चाउमिन, बर्गर, ससेज, पानीपुरी, चटपट, चिसो पेय पदार्थ लगाएतका खाना अर्थात स्ट्रिट फुड काभ्रेका सहरी क्षेत्रमा पनि फस्टाउदै गईरहेको छ । काभ्रेका पनौती, खोपासी, बनेपा, धुलीखेल, पाँचखाल, दोलालघाट, भकुण्डेबेसीलगाएतका सहरी क्षेत्रहरुमा विहान र साँझपखको समयमा स्ट्रिट फुड चारपांग्रे ठेलागाडामा युवायुवतीको जमघट देख्न सकिन्छ ।
विद्यालय र कलेज छेउछाउका सडकमा राखीएका चटपट अनि पानीपुरी पसलहरुमा विषेशगरी युवतीहरुको भिड नै जम्मा भएको हुन्छ । ‘क्याम्पस छुटेपछि चटपट खाने बहिनीहरुको भिड नै हुन्छ’, काभ्रे क्याम्पस छेउको सडकमा चटपट बेचेर बस्ने एक महिला भन्छिन्, ‘दिउँसो पनि वरपरका दिदी बहिनीहरु पीरो चटपट खान मन पराउनुहुन्छ ।’
सडक छेउमा राखिएका यस्ता पसलका खानामा झिङ्गा, धुलो र धुवाका कणहरु धेरैमात्रामा रहेका हुन्छन् । तर व्यापारीहरु भने आफुहरुले खानेकुराको सरसफाईमा ध्यान दिने गरेको बताउने गरेका छन् ।

यस्तै बजारका मुख्य चोक–चोकमा साँझपख मसालेदार स्ट्रिट फुड खानेहरुको जमघट पनि उल्लेख्य रहेको हुन्छ । त्यसबेला हामीलाई शारीरिक स्वास्थ्यभन्दा भोक, प्यास अनि जिब्रोको स्वादको मतलव रहेको हुन्छ । यद्यपी घरेलु खानामा पाईने ताजापन तथा सन्तुलित पौष्टिकतत्व रेस्टुराँ र स्ट्रिट फुडमा खानामा प्रप्त गर्न सकिदैन । केहि रेस्टुराँले उपभोक्ताको स्वास्थ्य र खानामा ध्यान दिए पनि धेरैजसो रेस्टुराँ, होटल अनि गाडाका पसलहरु यस कुरामा ध्यान दिने गरेका छैनन् । किशोर–किशोरी तथा युवामाँझ लोकप्रिय बनेको फस्टफुड कहिलेकाही मात्र खानुलाई नराम्रो मानिदैन तर यसको नियमित प्रयोगले भने हाम्रो स्वास्थ्यमा नकारात्मक असर पु¥याउने कुरा भने पक्का छ । यस्ता पसलहरुका खानाको गुणस्तरको अनुगमन अहिलेसम्म हुन सकेको छैन । ठेलागाडा पसलहरु स्थायी रुपमा एकै ठाँउमा नबस्ने हुनाले पनि नगरपालिकाहरुले उनिहरुलाई दर्ताको दायरामा ल्याउन सकेको छैन ।
थोरै खर्चमा ठेलागाडा निर्माण गरेर सडक छेउछाउ र भिडभाड जम्मा हुने क्षेत्रमा डुलाउदा पसलको भाडा पनि तिर्नु नपर्ने हुनाले पनि यस्ता पसलको खाना होटलको तुलनामा सस्तो हुने गर्दछ । ठेलागाडा पसलमा खानेकुरा टपरीमा दिने हुनाले तिनीहरुमा धुलोका कणहरु टाँसिएका हुन्छन् ।
पनौती बसपार्क क्षेत्रको ब्यस्त सडकमा गाडामा मःम, सेकुवा, ससेजलगाएतका खानेकुरा बेचिरहेका शम्भु श्रेष्ठ भन्छन्, कहिले यता कहिले उता डुलाउनुपर्छ, सडककै छेउमा राखेपछि अलिअलि धुवा–धुलो त आईहाल्छ नी, सबैले यसैगरी बेच्छन् ।’ उनी भन्छन्, ‘मसालेदार र पिरो भएपछि सबैले मन पराउने भएकोले पनि ग्रहाकहरुले स्वादमा ध्यान दिन्छन् तर सरसफाईको कुरा कसैले गर्ने गरेका छैनन्् ।’
पनौतीमा मात्र मःम, चाउमिन र चटपट बेच्ने ३० वटा गाडा पसलहरु रहेका छन् । फस्फुड बेच्ने व्यापारीहरुले दैनिक ७ हजार भन्दा बढीको व्यापार गर्ने गरेका छन् । यस्तै चटपट व्यापारीले दैनिक १ हजार रुपैयाको व्यापार गर्ने गरेको बताएका छन् ।  यस्तै चटपट व्यापारीले भने प्रति महिना २५ हजारसम्मको व्यवशाय गर्ने गरेका छन् ।
समान्यतया फस्टफुडमा आलु, तेल र मसलाको अत्याधिक प्रयोग भएको पाईन्छ । मःम, चाउमिन, चिप्स, बर्गरले पेट त भरिन्छ तर हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तथा सन्तुलित भोजन प्राप्त हुदैन । प्रतिस्पर्धात्मक जीवनका कारण हाम्रो खानामा पनि परिवर्तन आएको छ । जंक फुड, फ्राई फुड, पिज्जा, कोल्ड ड्रिंक्सलगाएतका खानेकुरामा क्यालोरीको मात्रा बढी हुनुको साथै चिल्लो पदार्थ पनि बढी रहेको हुन्छ । ‘यस्ता खानेकुरालाई राम्रोसंग पचाउन नसक्दा शरीरमा बोसो लाग्ने गर्दछ । प्रायःजसो यस्ता खानेकुरा खाईरहने व्यक्तिलाई मोटोपन, ब्लडप्रेसर, क्यान्सर, मधुमेह, मुटुसम्बन्धी रोगहरु देखिने सम्भावना अत्याधिक हुन्छ ।’
धुलिखेल अस्पतालमा कार्यरत डाक्टर सुमनराज ताम्राकार भन्नुहुन्छ, ‘ससेज, सेकुवा, चप जस्ता खानेकुरा लामो समयसम्म एउटै तेलमा बारम्बार पकाउदा तेल हानिकारक बन्न जान्छ र दीर्घकालमा मुटुरोग तथा क्यान्सर गराउने तत्व उत्पन्न हुन्छ । साथै झिंगा धुवा–धुलोले फोहोर बनाएको खानाले मानिसलाई टाइफाइड, झाडापखाला, फुड पोइजन, झाडापखला, इन्फेक्सन, जन्डिस, हैजा जस्ता रोग लगाउँछ ।’ डाक्टर ताम्राकार आम सर्वसाधारणलाई यस्तो प्रकारको अस्वस्थ खानेकुरा सकेसम्म उपभोग नगर्न सल्लाह दिनुहुन्छ ।
जिल्ला स्वस्थ्य कार्यालय काभ्रेका अनुसार खाद्य ऐन २०२३ ले स्वास्थ्यलाई हानी गर्ने सडेगलेका, विषाक्त र फोहोरमा तयार पारिएका खाद्य पदार्थको बिक्रि वितरणलाई दण्डनीय मानेको छ । ऐनको दफा ५ मा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्रि वितरण निकासी वा पैठारी गर्नेलाई पहिलो पटक रु.एक हजारदेखि दुई हजार जरिवाना र दोस्रो पटकदेखि हरेक पल्ट रु.दुई हजारदेखि रु.पाँच हजार जरिवाना वा ६ महिनादेखि एक वर्ष कैद वा दुवै सजायको व्यवस्था छ । यस्तै, दुषित तथा न्यूनस्तरको खानाका कारण उपभोक्ताको मृत्युको सम्भावना, मृत्यु, वा शारीरिक क्षति भए, हुने सम्भावना भए न्यूनस्तरको खाद्यपदार्थ उत्पादन, बिक्रिवितरण निकासी वा पैठारी गर्नेलाई रु.१० हजारदेखि रु.२५ हजार जरिवाना र तीन वर्षसम्म कैदको प्रावधान छ ।
आफैले घरमा तयार गरिएका हरिया सब्जीयुक्त खानामा शरीरलाई आवश्यक पर्ने सम्पुर्ण तत्वहरु पाईने र आफुले खाना बनाउदा सफा तरिकाले बनाईने हुदा घरको खाना सफार स्वस्थ हुने गर्दछन् । ठेलागाडा पसलमा बेचिने खाना (स्ट्रिट फुड)लाई कानुनको दायरामा ल्याउनु भन्दा पनि उनीहरुले बेचिरहेको खानाहरुको गुणस्तर मापन र खानालाई स्वस्थ र सफा बनाउन उत्प्रेरित गर्ने कार्यक्रहरु सम्वन्धित निकायहरुले गर्नुपर्ने जरुरी देखिन्छ । साथै उपभोक्ताले पनि स्वास्थ्य नै धन हो भन्ने कुरालाई मनन गरी आफ्नो स्वास्थ्यको लागि मसलादार खाना भन्दा सन्तुलित भोजनलाई छनौट गर्नुपर्ने देखिन्छ ।

धेरै पटक पढिएको